काठमाडौंमा ‘फ्रि प्यालेस्टाइन’को पक्षमा झण्डासहित नारावाजी

३ फाल्गुन २०८०, बिहीबार १७:०६

काठमाडौं । काठमाडौंमा ‘फ्रि प्यालेस्टाइन’को पक्षमा आवाज उठेको छ । भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६औं विश्वव्यापी संस्करण सुरु हुनुपूर्व भएको विशाल प्रदर्शनमा प्यालेस्टाइनी झण्डासहित ‘फ्रि प्यालेस्टाइन’को नारा लागेको हो ।

विश्व सामाजिक मञ्चको विश्वव्यापी सम्मेलनमा भाग लिन आएकाहरुले ‘फ्रि प्यालेस्टाइन’को नारा लगाएका हुन् । उनीहरुले प्यालेस्टाइन स्वतन्त्र रहनुपर्ने भन्दै नारा लगाए । यस्तै, प्यालेस्टाइनमाथि इजरेलले गरिरहेको दमन बन्द गरिनुपर्ने माग उनीहरुले राखे । इजरेली र प्यालेस्टाइनीबीचको तनाव जारी छ । दोहोरो गोलाबारीमा परी हालसम्म २६ हजार नागरिकको मृत्यु भइसकेको छ भने ६८ हजार घाइते तथा अंगभङ्ग भएका छन् ।

‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६औं संस्करण सुरु भएको छ । जहाँ ९२ मुलुकका करिब ४० हजार बढी मानिस सहभागि हुने बताइएको छ ।

२६औं संस्करण सुरु हुनुअघि विभिन्न श्रमिक संघ, महासंघ तथा संगठनहरुले वृहत्त शान्तिपूर्ण प्रदर्शन गरे । काठमाडौंका विभिन्न क्षेत्रबाट सुरु भएका विभिन्न जुलुस तथा झाँकीहरुले प्रदर्शनीमार्गहुँदै शहीदगेट, सुन्धारा, न्युरोड, शान्तिवाटीको परिक्रमा गरे ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथिहरु सहभागि भएका छन् । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् ।

विश्वका सीमान्तकृत समुदाय र वर्गको पक्षमा आवाज उठाउन आयोजित सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे खुला तथा आलोचनात्मक बहस हुने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*