काठमाडौंमा विशाल प्रदर्शन, ‘अर्को विश्व सम्भव छ’(फोटोसहित)

३ फाल्गुन २०८०, बिहीबार १६:४०

काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६औं संस्करण सुरु भएको छ । जहाँ ९२ मुलुकका करिब ४० हजार बढी मानिस सहभागि हुने बताइएको छ ।

२६औं संस्करण सुरु हुनुअघि विभिन्न श्रमिक संघ, महासंघ तथा संगठनहरुले वृहत्त शान्तिपूर्ण प्रदर्शन गरे । काठमाडौंका विभिन्न क्षेत्रबाट सुरु भएका विभिन्न जुलुस तथा झाँकीहरुले प्रदर्शनीमार्गहुँदै शहीदगेट, सुन्धारा, न्युरोड, शान्तिवाटीको परिक्रमा गरे ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथिहरु सहभागि भएका छन् । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् ।

विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाउन आयोजित सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे खुला तथा आलोचनात्मक बहस हुने बताइएको छ ।

 

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे पनि छलफल हुने बताइएको छ ।
नेपाल आयोजक समितिका सञ्चार समन्वय उपसमिति संयोजक सुशील विकेले मञ्चले नवउदारवाद, भुमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषकाविरुद्ध सामूहिक आवाज उठाउँदै आएको जानकारी दिए ।

सम्मेलनमा वल्र्ड फेमिनिस्ट फोरमले लैङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकारजस्ता विषयमा बहस छलफल गर्नेछ भने सीमान्तकृत सामाजिक समूहले लैङ्गिकता यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रम गर्नेछन् । यस्तै डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाको संरक्षण, जवाफदेहिताजस्ता विषयमा बहस गर्नेछ ।

मञ्चको अन्तर्राष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र ः ऐक्यबद्धता, सामाजिक र पुँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र सङ्घर्ष, प्यालेस्टाइन समसामयिक सवालमा सन्ध्याकालीन क्याफे संवाद हुँदैछन् । अरविक र पोर्तुगिज गरी छ भाषामा पोडकास्टबाट अनुवाद हुने समेत जनाइएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*