सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आव ०७९।०८० को आर्थिक जीवन बीमा कोष र बीमाङ्किय मूल्याङ्कन प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम २५ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
कम्पनीका अनुसार सनलाइफ सावधिक जीवन बीमालेखमा बीमितले बीमा अवधिका अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतममा ५० रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् ।
त्यस्तै, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक) मा बीमा अवधि अनुसार प्रतिवर्ष प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।
त्यसैगरी, बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावधिक बीमा) मा बीमितले बीमा अवधि अनुसार ३० रुपैयाँदेखि ५० रुपैयाँ प्रतिहजारका दरले बोनस पाउने भएका छन् । सुनौलो सावधिक जीवन बीमामा पनि १५ देखि १९ उमेर समूहका बीमितले ३० रुपैयाँ र २० देखि २४ उमेर समूहका बीमितले ५० रुपैयाँ प्रतिहजारका दरले बोनस पाउने भएका छन् ।
कम्पनीले नवीन आजिवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमालेख अवधि अनुसार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतममा ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यता सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा सबै बीमा अवधिका लागि ४२ रुपैयाँ बोनसदर कायम गरिएको छ । सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा कम्पनीले २५ रुपैयाँदेखि २७ रुपैयाँसम्म बोनस दिने भएको छ ।
अन्त्यमा कम्पनीले धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमाामा बीमा अवधिअनुसार बीमितलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतममा २७ रुपैयाँसम्म बोनस दिने भएको छ ।