सीवाईसी लघुवित्तको नाफा १९ प्रतिशतले घट्यो
काठमाडौं । सीवाईसी लघुवित्त वित्तीय संस्थाको ब्याज आम्दानी बढे पनि नाफा भने १९ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६ महिनामा खुद नाफा १ करोड ९१ लाख रुपैयाँ छ ।
गत वर्षको यसै अवधिमा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १२ करोड १४ लाख रहेकोमा अहिले सोही अवधिमा १३ करोड १८ लाख रहेको छ ।
कम्पनीको सञ्चालन खर्च बढ्दा नाफा घटेको देखिन्छ । सञ्चालन खर्च गत वर्षको दोस्रो त्रैमासमा ११ करोड १३ लाख रुपैयाँ रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा १४ करोड ७० लाख पुगेको छ ।
कम्पनीको निष्क्रिय कर्जा सामान्य बढेको छ । पहिले कुल कर्जामा ४।६२ प्रतिशत रहेको यस्तो कर्जा अहिले ४।७७ प्रतिशत छ । त्यस्तै वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा छ । प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३२ पैसा छ ।