राष्ट्रिय जीवन बीमा कम्पनीको बेथितीमा बीमा प्राधिकरणको ल्याप्चे, हचुवामा समान बोनसदर स्वीकृत
काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले बोनसको दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि आव २०६९/७० सम्मको इन्फोर्स पोलिसी बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसको दर घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जीवन बीमा कमपनीले हचुवाको आधारमा पेश गरेको बोनसदर स्वीकृत गर्ने पुरानो श्रृंखला यस पटक पनि अन्त्य भएन । बर्षौदेखि बार्षिक वित्तिय विवरण तयार नपारी संचालन हुँदै आएको राष्ट्रिय जीवन बीमा कम्पनीले यस पटक पनि हचुवाको भरमा बोनसदर प्रस्ताव गरेकोमा प्राधिकरणले स्वीकृत गरेको हो ।
संस्थागत सुशासनका कुनै कुरा पालना नगर्ने तर कर्मचारीले तलब भत्ता नियमित रुपमा बुझने कार्य हुँदै आएको तत्कालिन राष्ट्रिय बीमा संस्थानमा समान प्रति बर्ष प्रति हजार ६५ रुपैयाँ तोकिएको छ।
बीमाको सिद्धान्त अनुसार बोनसदर बीमा पोलिसीको अवधि र बीमाको प्रकार अनुसार फरक फरक हुने गर्दछ । सो अनुसार हालको राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा पोलिसी अनुसार फरक फरक बोनसदर निर्धारण गर्नुपर्ने थियो । सो नगरी अन्धाधुन्ध र समान बोनसदर कायम गरेको छ ।
त्यसैलाई प्राधिकरणले आँखा चिम्लेर नियामक स्वीकृत दिने काम गरीरहेको छ । कम्पनीको काम गर्ने शैलीमा ढिला सुस्ती भएपनि कर्मचारीहरु बढुवा हुने काम भने निरन्तर भईरहेको छ।
कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस दिनेगरि ) जारी गरेको सबै किसिमका बीमालेखहरूमा प्रति वर्ष प्रति हजार बीमांकमा ६५ रूपैयाँ बोनस दर कायम गरेको छ।
बोनस दर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ । यो कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान हो ।
आर्थिक वर्ष २०६७/६८ देखि आव २०६९/७० सम्मको इन्फोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७ सय २१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्त्व मूल्यांकन सम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट माघ १७ गते स्वीकृत भएको थियो ।