एशियन लाइफ इन्स्योरेन्सले फागुन १८ गते बोलायो साधारण सभा, लाभांश पारितसहित के–के छन् एजेण्डा ?
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा फागुन १८ गतेका लागि बोलाएको छ । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा १ जना नियुक्त गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।
साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते बुक क्लोज गर्ने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।