रमेश हमालको सम्पत्ति छानविन गर्ने प्रकृया अघि बढ्यो, पूर्ण विवरण पेश गर्न निर्देशन
काठमाडौं। नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन र प्रिमियम आइपीओ निष्काशनमा भएको चलखेलमा छानविन गर्ने प्रकृया अघि बढेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो छानबिन अघि बढाएका हो । सार्वजनिक लेखा समितिले सो छानबिन गर्न निर्देशन दिएको थियो। समितिको गत पुस १२ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो।
नेपाल धितोपत्र बोर्डका अध्यक्षले आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रुपमा विभिन्न कम्पनीहरूलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर ल्याउन दिएर गैर जिम्मेवारीपूर्ण कार्य गरेको भनी व्यापक जन गुनासो रहेको र समितिमा सो सम्बन्धमा कुरा उठेकोले उहाँको सम्पत्ति शीघ्र छानबिन गर्न र ३० दीन भित्र सो सम्बन्धी कार्य प्रगति विवरण समितिलाई उपलब्ध गराउन समितिको यो बैठक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन गर्दछ,” समितिको १९ बैठकको निर्णय १ मा भनिएको छ।
विगत ३ वर्षभित्र प्रिमियम मूल्यमा शेयर जारी गर्ने विभिन्न कम्पनीहरूले गरेको प्रिमियम शेयरहरू कति औचित्यपूर्ण थिए, गैर कानुनी थियो कि थिएन भन्ने विषयमा छानबिन गरी निष्कर्षमा पुग्न र छानबिनको क्रममा दोषी देखिएमा सम्बन्धित पदाधिकारलाई कानुनबमोजिम कारवाहीको प्रक्रियामा लैजान र ३० दिनभित्र सो सम्बन्धी कार्य प्रगति विवरण समितिलाई उपलब्ध गराउन समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
समितिले दिएको समय सीमा सकिएपछि मात्रै उनीहरूले छानबिन अघि बढाएका छन्। छानबिनका लागि अहिले दुवै निकायले नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित विषयको बारेमा विवरण मागेका छन्। बोर्डले हालसम्म पूर्ण विवरण नपठाएको जिकिर गरेको छ । पूर्व अध्यक्ष रमेशकुमार हमालले सम्पूर्ण विवरण पठाए उक्त फाइल पठाउन कुनै आपत्ति नरहेको बोर्डका एक अधिकारीले बताएका छन् ।