तीन महिनादेखि रिक्त रहेको सिईओ नटिक्ने राष्ट्रिय बीमा कम्पनीले सिईओ नियुक्तीको लागि आवेदन खुल्ला गर्दै
काठमाडौं। तीन महिनादेखि रिक्त रहेको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को आवेदन खोल्ने तयारी गरेको छ।
सरकारको बहुमत स्वामित्व भएको सार्वजनिक संस्थानलाई चुस्त रूपमा चल्न नदिन अर्थ मन्त्रालयबाट निरन्तर हस्तक्षेप हुने कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । सरकारको हस्तक्षेप मात्रै नभई प्रत्येक पटक सिईओ नियुक्त हुँदा कर्मचारीहरुले अनेक वाहाना गर्दै धर्ना बस्ने र सिईओको कार्यकक्ष नै बन्द गरेर काम गर्न नदिने जस्ता कामको कारण पनि कम्पनीमा सिईओ पूर्ण कार्यकालसम्म टिक्न नै हम्मे हम्मे पर्दछ ।
कम्पनीमा सिईओ आफनो कार्यकालसम्म टिक्न नसक्ने कम्पनीको उपनाम पाएको यस कम्पनीले यसै महिनामा सिईओ नियुक्तको लागि नयाँ प्रकृया थाल्ने तयारी गरीरहेको एक संचालकले बीमापोष्टलाई जानकारी दिएको छ।
कम्पनीले सिईओ नियुक्तको लागि बोर्डमा छलफल गरी कार्यविधि समेत बनाईसकेको छ । कम्पनीको सञ्चालक समिति सदस्य शंकर राज पाठकको नेतृत्वमा बनेको पदपूर्ति समितिले सीईओको पदपूर्ति सम्बन्धी कार्यविधि बनाईसकेको कम्पनीले जनाएको छ ।
उक्त समितिमा सञ्चालकद्वय सागर कुमार सिंह र विश्वराज बराल सदस्य छन् ।
भोलिको बैठकले यो बिषयमा अन्तिम टुंगो लगाउने छ । उक्त बैठकमा यस बिषयमा छलफल हुने भएको छ। भोलिको बैठकले यस बिषयमा अन्तिम निर्णय गरे सिईओको लागि दरखास्त आह्वान गर्नेछ । कम्पनी निमित्तको भरमा चलेको छ । सुवास कोईरालालाई हाल कम्पनीको निमित्त कार्यकारीको जिम्मेवारी दिईएको छ ।