‘सुन तस्कर’अध्यागमन कर्मचारीलाई गृहमन्त्री र आईजीपीको साथ, यस कारण डीआईजी चन्दले गरे जागिर छोड्ने निधो

२२ माघ २०८०, सोमबार १५:४१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको राजीनामाको विषय गृह मन्त्रालय र प्रहरी हेडक्वार्टर दुबैलाई भालुको कञ्चट भएको छ ।

चन्दले शनिबार राजीनामा दिएको भनियो तर, प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)ले अहलेसम्म राजीनामाको कुनै जानकारी नआएको बताएको छ । केन्द्रीय प्रहरी प्रवक्ता भिमप्रसाद ढकाल शनिबारदेखि एउटै रट लगाइरहेका छन्, ‘हेडक्वार्टरमा राजीनामा आएको छैन ।’ केन्द्रीय प्रवक्ताले राजीनामा आएको छैन भनेपछि थप सोधिरहने कुरै भएन ।

गृह मन्त्रालयमा यो विषयलाई अर्कै बनाइएको छ । अध्यागमनका कर्मचारी जोगाउन गृहमा मन्त्री समेतलाई फरक व्रिफ गरिएको रहेछ भने विमानस्थलमा भएको अध्यागमन कर्मचारी र प्रहरीबीचको झगडालाई प्रतिवेदनमा फरक ढंगले उतारिएको छ ।

विमानस्थल झगडाको छानविन समितिमा संलग्न गृहका एक अधिकारीले डीआईजीको राजीनामालाई सामान्य एक कर्मचारीले जागिर छोड्ने विषय कसरी समाचार बन्छ ? भन्दै उल्टै प्रतिप्रश्न गरे । रिसले रन्किंदै उनले अगाडि भने, ‘तपाइँहरु न्यायाधीश नबन्नुस् ।’ गृहका प्रवक्ता नारायण प्रसाद भट्टराई अध्यागमन विभागको हाकिम भइसकेको हुनाले यो लफडामा पर्न चाहेनन् । उनी सुरुदेखि नै यस विषयमा केही बोलेका छैनन् ।

विवाद अन्यत्र पन्छाउन उनले नै छानविन समितिको प्रस्ताव राखेका बताइन्छ । छानविन समितिलाई विवाद टाँसा लगाइदिएपछि उनी आफु फसादबाट उम्किए । कारणः विमानस्थल अध्यागमनमा हुने गतिविधि उनलाई राम्ररी थाहा थियो । आफ्नो पालामा उनले सुधारको पहल पनि गर्न खोजेका थिए ।

बाहिरफेरा डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको भनिए पनि उनको राजीनामाको कारण गम्भीर छ । माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको झगडाको प्रतिवेदन आएदेखि नै डीआईजी चन्द असन्तुष्ट थिए ।

माघ १२ गते विहान कार्यालय समयमा प्रहरीको जाँच विन्दुबाट यात्रु प्रतीक्षालयतिर जान खोजेका अध्यागमन अधिकृतलाई जाँच गर्दा विवाद बढेर कुटपिटसम्म पुगेको थियो । अध्यागमन अधिकृतले प्रहरी कुटेर बढाएको विवादले प्रहरीलाई मात्रै डामेको छ । वाक थ्रुमा खटिएका असई सञ्जय तामाङ निलम्बनमा परेका छन् भने कुटपिटको घटनालाई लिएर डीएसपीलाई सचेत गराउने र अन्य दुई जवानलाई विभागीय कारबाही गर्ने लगायतको सिफारिस छानविन समितिले गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले जाँच गर्दा विवाद बढ्दै गएर कुटाकुटमा परिणत भएको थियो । सुरुमा मोक्तानले नै प्रहरीलाई प्रहार गरेका थिए । मोक्तानले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरी मोक्तानमाथि खनिएका थिए ।

सन्कि र रिसाहा प्रवृत्तिका मोक्तानले अघिल्लो अध्यागमन कार्यालय प्रमुखको कार्यकालमा सेवाग्राहीमाथि दुई तीन पल्ट हातपातको प्रयास गरेका थिए भने उनी सुन तस्कर र भिजिट भिसाका नाममा मानव बेचविखन गर्ने गिरोहको सम्पर्कमा रहेका कारण उनलाई त्यसबेला चार दिन कार्यालय प्रवेशमा रोक लगाइएको थियो । त्यसरी नसिहत पाएका मोक्तान माघ १२ गते पनि धेरै किन खानतलासी गरेको भन्दै प्रहरीमाथि जाई लागेका थिए । जुन घटनामा अध्यागमनका हाकिम र गृह मन्त्रालयका अधिकारीहरु मिलेर तल्लो दर्जाका प्रहरीलाई मात्रै घानमा पार्ने किसिमले तोडमोड गरेका छन् ।

आफ्नो संगठनमाथि नियोजित प्रहार हुँदा पनि प्रहरी महानिरीक्षक आईजीपी वसन्त कुवर चुँइक्क नबोलेको भन्दै विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी चन्दले राजीनामा दिएको बताइएको छ । चन्द निकटहरुले दिएको जानकारी अनुसार अध्यागमन अधिकृतमाथि कडाईकासाथ तलासी गर्ने प्रहरीलाई पुरस्कार दिनुपर्ने चन्दको अडान थियो ।

आफ्नै चिफले गृहका अधिकारीहरु सामुन्ने घुँडा टेकेपछि राजीनामा दिन बाध्य भएको चन्द निकटहरु बताउँछन् । छानविन समितिको प्रतिवेदनले विमानस्थलमा खटिएका प्रहरीलाई हतोत्साही गरेको र चन्दमाथि चेकजाँचमा कडाई नगर्न चौतर्फी दबाब बढेका कारण पनि छिटै राजीनामा आएको बताइएको छ । गृहका अधिकारीहरु भने विमानस्थलमा खटिएका प्रहरीको हुर्मत लिएर तस्करहरुको विजयोत्सव मनाइरहेका छन् ।

गृहका कर्मचारीहरुको कुरा पत्याएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई परेको चोटबारे वास्तविक कुरा बुझ्न नचाहेको देखिएको छ । डीआईजी चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याची हुन् । चन्दको सेवा अवधि २०८१ चैतसम्म छ । वैशाख १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनको राजीनामाको विषयले भित्रभित्रै हंगामा मच्चिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*