संखुवासभा पावरले साढे २५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
काठमाडौं । संखुवासभा पावर डेभलपमेण्टले आइपीओ निष्कासन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो ।
कम्पनी र एनआईसी एशिया क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्जयालले हस्ताक्षर गरेका छन् ।
संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पूँजीको २५ प्रतिशत सेयर अर्थात १०० रूपैयाँ अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निकट भविष्यमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।