जीवन बीमा कम्पनीहरुको नयाँ ब्यवसायमा गिरावट, पाँचको मात्र ब्यवसाय वृद्धि, बाँकीको घट्यो (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले पुष महिनासम्ममा १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको पुष महिनामा १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको तुलनामा उक्त प्रथम बीमा शुल्क आर्जन २.५५ प्रतिशतले कम हो ।
पुष महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुष महिनासम्ममा कुल ३ अर्ब १५ करोड १३ लाख रुपैयाँ बरारबरको नयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत पुष महिनाको सोही अवधिको भन्दा कम्पनीको प्रथम बीमाशुल्क आर्जन २१.७३ प्रतिशतले बृद्धि भएको छ । नयाँ व्यवसाय बृद्धिको आधारमा पनि कम्पनीले पहिलो नम्बरमा रहेको छ ।
त्यस्तै, नेशनल लाइफले पुष महिनासम्ममा कुल १ अर्ब ९९ करोड ११ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत पुष महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय २२.४० प्रतिशतले बढेको हो ।
एलआइसी नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ४ करोड ७३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । यसका साथै, पुष महिनासम्ममा हिमालयन लाइफको नयाँ बीमाशुल्क आर्जन २८.५७ प्रतिशतले घटेर १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्ममा सूर्यज्योति लाइफको १२.२४ प्रतिशतले घटेर ९६ करोड ५८ लाख रुपैयाँ, सिटिजन लाइफको ९.३२ प्रतिशतले घटेर ७९ करोड ७३ लाख रुपैयाँ, एशियन लाइफको ६.३१ प्रतिशतले बढेर ७८ करोड ३७ लाख रुपैयाँ, सानिमा रिलायन्सको १६.५९ प्रतिशतले घटेर ७ करोड ३९ लाख रुपैयाँ आइएमई लाइफको ११.०८ प्रतिशतले बढेर ६७ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन घटेको वित्तीय विवरणले देखाएको छ ।
साथै, सन नेपालको ३०.९९ प्रतिशतले घटेर ६६ करोड ७१ लाख रुपैयाँ, रिलायब नेपालको ११.३८ प्रतिशतले घटेर ६४ करोड ४५ लाख रुपैयाँ, मेट लाइफको ०.१३ प्रतिशतले बढेर ६० करोड ४७ लाख रुपैयाँ, प्रभु महालक्ष्मीको २३.८० प्रतिशतले घटेर ४० करोड ५८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ९.७१ प्रतिशतले घटेर ३१ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।