जीबी राईपछि सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएपछि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि ‘रेड कर्नर नोटिस नारी भएको छ ।
पूर्व अध्यक्ष भूपेन्द्र र थानबहादुरविरुद्ध डिफ्युजन नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता, डीआईजी भीम ढकालले बताएका छन् । उनले भने, ‘आइतबार भूपेन्द्र र थानहादुरविरुद्ध डिफ्युजन जारी भएको जानकारी आएको छ ।’
शुक्रबार मात्रै सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु)राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राईसहित भूपेन्द्र, थानबहादुर र शिवबहादुर गुरुङ (महेन्द्र भोटे)विरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि प्रहरी प्रधान कार्यालय नक्साललाई पुस ५ गते चिठी पठाएको थियो ।
कास्की प्रहरीको चिठीपछि इन्टरपोलको नेपाल शाखा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो।
एनसीबी काठमाडौंको पत्राचारपछि उनीहरुविरुद्ध डिफ्युजन नोटिस जारी भएको हो । डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीहरुको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन् । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित १२ जनाभन्दा बढी फरार छन् ।
महेन्द्र भोटेविरुद्ध पनि डिफ्युजन नोटिस जारीका लागि पत्राचार गरिएको थियो । तर, इन्टरपोलमा पत्राचार गरेको विषय सार्वजनिक भएपछि भोटेसँगै भविश्वर अर्याल आफैं अदालतमा उपस्थित भए । कास्की जिल्ला अदालतले उनीहरु दुबै जनालाई पुस १८ गते पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन् ।
डिफ्युजन नोटिस जारी भएका जिबी राई ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत हुन् । कास्कीमा मात्रै १९ हजार भन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दाबढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । हिनामिनाको मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ । रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको छ ।