संविधानको पालना हाम्रो दायित्व होः प्रधानमन्त्री प्रचण्ड

११ माघ २०८०, बिहीबार १०:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । माघ ११ गते बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

पूर्व न्यायाधिश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्व न्यायाधिशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए ।

प्रधानमन्त्रीले पूर्व न्यायाधिशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएको बारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याए।

प्रचण्डले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधिशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव ब्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*