किन ओपनिङ रेन्ज घटाउने तयारीमा लाग्यो नेप्से ?

९ माघ २०८०, मंगलवार ०४:३९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले आइपीओको पहिलो कारोबारका लागि दिने गरेको ओपनिङ रेन्ज (सुरुवाती मूल्य) घटाउने तयारी गरेको छ ।

बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीले पनि आइपिओ जारी गर्ने र ती कम्पनीलाई तीन गुणासम्म ओपनिङ रेन्ज दिँदा केही समय सेयर मूल्य उचालिए पनि लगानीकर्ता जुनसुकै बेला फस्न सक्ने भन्दै ओपनिङ रेन्ज घटाउन नेप्से व्यवस्थापन समूहले सञ्चालक समितिलाई प्रस्ताव पेश गरेको छ ।

विशेष गरी खराब वित्तीय अवस्था भएको सोनापुरको सेयर मूल्य उचालिएको विषयलाई लिएर नेप्सेको आलोचना भएपछि ओपनिङ रेन्ज घटाउन नेप्सेलाई दबाब परेको नेप्से स्रोतले बतायो ।
ओपनिङ रेन्ज नघटाउने हो भने यस्ता कम्पनीले लगानीकर्ता डुबाउन सक्छन् भन्ने व्यवस्थापनलाई लागेपछि ओपनिङ रेन्ज घटाउने प्रस्ताव बोर्डमा पेश भएको नेप्से स्रोतले बतायो ।

अहिले नेप्सेले नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज दिँदै आएको छ । अब त्यसलाई घटाएर डेढ गुणादेखि २ गुणासम्म बनाउने गरी प्रस्ताव गरिएको हो ।
नेप्से सञ्चालकले भने सेयर बजारमा असर पर्ने हो कि भन्दै पर्याप्त होमवर्क गरेर मात्र अघि बढ्ने जनाएको स्रोतले बताएको छ ।

अर्कोतर्फ प्रिमियम मूल्य र बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरेकाको हकमा आइपीओकै मूल्य वा फेस भ्यालुलाई मात्र कारोबार मूल्य दिने गरी छलफल भएको छ ।

पछिल्लो समय अंकित मूल्यमा प्रिमियम थप गरेर सेयर जारी गर्ने कम्पनीहरूको होडबाजी नै देखिएको छ । यस्तै बुक बिल्डिङ प्रक्रियाबाट पनि सेयर जारी गर्न कम्पनीहरू अग्रसर देखिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*