सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा स्वार्थ बाझियो, बिक्री प्रबन्धक तीन वटै कम्पनीको नाममा करोडौंको शेयर
काठमाडौं । नेपालमा जति अनैतिक र लाज शरम पचाएर ब्रम्हलूटको धन्दा शायदै विश्वका अन्य देशमा होला । सन्दर्भ हाल बुक बिल्डिङको आईपिओ निष्काशनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको हो । बिक्री प्रबन्धक तीन वटै कम्पनीहरुको नाममा करोडौं रुपैयाँको शेयर किनेर आईपिओ निष्काशन गर्दै गरेको तथ्य उजागर भएको छ ।
कुनै पनि बिक्री प्रबन्धकको नाममा शेयर किनेर आईपिओ बिक्री गर्ने कार्य धितोपत्र सम्बन्धी नेपालको प्रचलित कानुन बमोजिम गैर कानुनी हो । तर, धितोपत्र बोर्ड नेतृत्व विहिन भएको मौका छोपेर सर्वोत्तम सिमेन्टले धमाधम बुक बिल्डिङमा आईपिओ निष्काशन गरिरहेको छ । बुक बिल्डिङमा आईपिओ निष्काशन गर्न हाल बैदेशिक रोजगारी र स्थानीय आयोजना प्रभावित जनताको लागि आईपिओ निष्काशन गरिरहेको सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआईबिएल एस क्यापिट र प्रभु क्यापिटल रहेका छन् ।
उल्लेखित तीन वटै बिक्री प्रबन्धक कम्पनीको नाममा सर्वोत्तम सिमेन्टको साधारण शेयर किनेको भेटिएको छ । तीन वटा संस्थाले आफ्नो नाममा कूल ६१ हजार १९० कित्ता शेयर किनेका छन् । तीन वटै कम्पनीले कूल पब्लिक शेयरको एक प्रतिशतभन्दा बढि हिस्सा रहने देखिन्छ । जसमध्ये सबैभन्दा धेरै प्रभु क्यापिटलले किनेको छ । प्रभु क्यापिटलले कूल ४० हजार कित्ता शेयर किनेको छ । त्यस्तै, ग्लोबल आइएमई क्यापिटलको १४ हजार १२७ कित्ता र एनआईएमबी एस क्यापिटलको ७०६३ कित्ता शेयर सर्वोत्तम सिमेन्टको किनिसकेको देखिएको छ । कूल शेयर हिस्सा कूल आईपिओ जारी हुने शेयर संख्याको एक प्रतिशत भन्दा बढि हुने देखिएको छ । सो आधारमा सर्वोत्तम सिमेन्टको आईपिओमा बिक्री प्रबन्धककै स्वार्थ बाझिने गम्भिर त्रुटी देखिएको छ ।
संस्थापक शेयरधनीहरुको स्वार्थ बाझिने बिक्री प्रबन्धकबाट आईपिओ निष्काशन गर्न नहुने विद्यमान कानुनी व्यवस्थाको धज्जी उडाउँदै ग्लोबल आइएमई क्यापिटल, एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटलले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ बिक्री गरिरहेका छन् ।
संस्थापक शेयर किनेर आफैले जनतालाई झूठा प्रचार गरी, नेपाल सरकारले छुट दिएको आयकरको हिस्सा समेत समावेश भएको मुनाफाको आधारमा बुक बिल्डिङमा आईपिओ निष्काशन गर्दै गरेको तथ्य खुलेको छ । राज्यले दिएको छुट सुविधा बिक्री गर्न पाइन्छ कि पाइदैन ? यो गम्भिर आर्थिक अनुशासन सम्बन्धी विषय हो । नेपाल सरकारबाट अर्बौ रुपैयाँ कर छुट लिएर कम्पनी सञ्चालन गर्ने, सर्वसाधारणको उठिबास लगाएर उद्योग सञ्चालन गर्ने अनि बुक बिल्डिङको नाममा महंगो मूल्यमा आईपिओ बिक्री गर्ने आर्थिक अनुशासनहिन र अनैतिक धन्दा दिन दहाडै भइरहँदा समेत सरकार, सञ्चार जगत, संसदीय समितिसहित सबै मौन रहँदै आएका छन् ।
गैर कानुनी रुपमा आईपिओ बिक्री वितरण भइरहेको सन्दर्भमा जिज्ञाशा राख्दा सर्वोत्तम सिमेन्टका सिईओ सन्तोष केसीले यस सम्बन्धमा आफूलाई थाहा नभएको बिक्री प्रबन्धकलाई सबै जानकारी भएको प्रतिक्रिया दिए । उता, एनआईबिएल एस क्यापिटलकी सूचना अधिकारी संजिता रेग्मीले योग्य संस्थागत लगानीकर्ताको रुपमा सेबोनबाट अनुमति पाएकोले उक्त शेयर किनिएको जानकारी दिईन् ।
स्वार्थ बाझिएको विषयमा जिज्ञाशा राख्दा नेपाल धितोपत्र बोर्डका प्रबक्ता मुक्ति श्रेष्ठले बिक्री प्रबन्धकहरुले आफ्नो नाममा शेयर खरिद गरेर पनि आईपिओ बिक्री गर्न पाउने प्रतिक्रिया दिएका छन् ।
Teso vay bikri pravandak Lai nani sabai kin van kina sarva sadarn Lai dinchas mukti sherta kit sabai ahfei kin