आर्थिक वृद्धिमा सुधार आइरहेको छ, अब लगानीका नयाँ क्षेत्रको पहिचान गर्नुपर्छः अर्थमन्त्री डा.महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि पहिलेको तुलनामा बढेको बताउँदै अब लगानीको नयाँ क्षेत्रको पहिचान गर्र्नुपर्ने बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने ‘आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्छ, लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ । अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदैछ । सञ्चारकर्मी साथीहरुले सकरात्मक भाष्यलाई अगाडि बढाउनु हुनेछ । यसले आत्मविश्वास बढाउँछ ।’
‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । उनले भने, आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरुले छाडे । यो अत्यन्तै खतरनाक हो ।’
देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको मन्त्री महतले बताए । परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर पुनः सहयोग उपलब्ध गराइने उनको भनाइ थियो ।
मन्त्री डा. महतले भने, ‘मैले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बिथिति थिए । त्यसलाई अर्डरमा ल्याउने चुनौति मेरो सामू थियो । बानी परिसकेपछि त्यसलाई छोडेर अर्को बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ । त्यो बिथितिलाई एकै धक्कामा सफा गर्न पनि कठिन थियो । विस्तारै काम भइरहेको छ । दायित्वमाथि दायित्व सिर्जना हुँदै जाने, हिसाबकिताब नदेखिने अवस्थाको हामीले अन्त्य गर्दैछौं । यसबाट स्वार्थ समूह बेखुशी छन् । बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउँदैछौं ।’
‘समग्र अर्थतन्त्रमा बाह्य र आन्तरिक कारणबाट समस्याहरु थिए, कोभिड अगाडि र कोभिडका बेलामा धेरै ठूलो ऋण प्रवाह भयो, जुनबेला खर्च गर्न सक्ने ठाउँ नै थिएन । गलत समयमा धेरै ऋण प्रवाह भयो । लगानी गर्ने ठाउँ नभएपछि धेरै सेयर बजार जग्गा कारोबारमा भयो’, उहाँले भन्नुभयो, ‘यसलाई रोक्न कसिलो मौद्रिक नीति आयो । लगानीको प्रतिफल नआउँदा दायित्व बढ्यो, ब्याज वृद्धि भयो । त्यो बेला ऋण लिएका ऋणी समस्यामा छन् । यो समस्या अहिले मुख्य छलफलको विषय बनेको छ ।’
अब लिने र दिने दुवैले जिम्मेवारी लिनुपर्छ । अर्थात् केही समय दिने र ब्याजदर घटाउने मौद्रिक नीति आएको छ । यसले राहत पुगेको छ, मन्त्री डा. महतको भनाइ थियो ।
‘विस्तारै अर्थतन्त्र लयमा फर्किदैछ । जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ । धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएका छन् । बाहिरबाट सिस्टममा प्रशस्त पूँजी प्रवाह भएको छ । आत्मविश्वास पनि विकसित हुँदै गएको छ’ मन्त्री डा. महतले भने ।