मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयको अपिल
काठमाडौं । माघ १ गतेदेखि वितरण गर्न सुरु गरिएको मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ ।
खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानमा नयाँ वितरण संजालबाट तथा परीक्षण नभएका स्थानमा पुरानै संजालबाट वितरण भइरहेको मन्त्रालयले जानकारी गराएको छ ।
मेलम्चीका खानेपानी सन्तुलित रुपमा वितरण भए–नभएको, पानी आए–नआएको तथा धमिलो पानी आएको लगायतका विषयहरुमा अनुगमन गर्न समस्या समाधान सहजीकरण समिति गठन भएको जानकारी गराउँदै पानी वितरणको क्रममा कुनै समस्या देखिएमा समितिलाई खबर गर्न मन्त्रालयले आग्रहसमेत गरेको छ ।
‘मेलम्ची खानेपानी आयोयजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ । पुराना वितरण पाइप लाइनहरु लामो समयसम्म संचालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएता पनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरुको पछि नलाग्न हुन मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित किायहरु सबैमा हार्दिक अपिल गर्दछ ।’ मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ ।