दुई वर्षयताकै उच्च कारोबारमा एक्कासी कसरी पुग्यो शेयर बजार ?

२ माघ २०८०, मंगलवार १७:१२

काठमाडौं । शेयर बजारमा मंगलबार दुई वर्षयताकै उच्च कारोबार भएको छ । मंगलबार ८ अर्ब रुपैयाँमाथिको शेयर किनबेच भएको हो । २०७८ माघ २० मा ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार ८ अर्ब २ करोड २८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको हो ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पूँजी बजारलाई निरुत्साहन गर्ने राष्ट्र बैंकको पोसिली संशोधन, बैंकहरुमा थुप्रिएको अधिक तरलता, बैंकहरुको व्याज निरन्तर घट्नाले बचतकर्ताहरु लगानीका लागि पूँजीबजारमा फर्किनु र सस्तोमा ऋण पाएपछि लगानीकर्ताको कन्फिडेन्स बढ्नुले शेयर बजार उचालिएको बताए ।
बीमापोष्टसँग उनले भने, ‘बैंकमा अधिक तरलता छ, लगानी गर्ने क्षेत्र पहिचान हुन सकेको छैन । उनीहरुलाई पूँजी बजारमा लगानी गर्न सजिलो भएको छ । निरन्तर व्याज घटेपछि डिपोजिटवालाहरुलाई पनि ओत लाग्ने र लगानी गर्न सजिलो हुने ठाउँ नै पूँजी बजार भएको छ । यो त कास्टिङ मात्रै हो । अबको केही वर्षमा ५०औँ अर्बको कारोबार गर्छ, स्टक मार्केटले ।’

राष्ट्र बैंकले नसच्चिएको भए पूँजीबजार यति चाँडै लयमा फर्किन सम्भव नरहेको ढकालले बताए । ४ प्रतिशतसम्म प्रिमियम लिएका बैंकहरु एक १ प्रतिशत प्रिमियममा लगानी गर्न तयार भएको अवस्थामा सबैको आकर्षण पूँजीबजार बनेको ढकालको भनाइ छ ।

मंगलबार १३ वटै उपसमूहले नेप्से उचाले । त्यसमध्ये फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.७५ प्रतिशतले बढ्यो । लगानी, लघुवित्त र जलविद्युत उपसमूहमा ३ प्रतिशतभन्दा बढीको उछाल देखियो । बैंक, विकास बैंक, व्यापार, उत्पादनमूलक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशत भन्दामाथि चढ्यो । २१४ कम्पनीको शेयर मूल्य बढेकोमा एक दर्जबढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । सर्किट लागेकामध्येमा ९ वटा जलविद्युत कम्पनी छन् ।

८ अर्बमाथिको कारोबारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सोनापुरको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*