निफ्राका सिईओले राजिनामा गरेकै दिन, शेयर बजारमा उछाल, यस्तो छ कारण
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । रोचक कुरा के छ भने उनले पदबाट राजिनामा दिएकै दिन उक्त कम्पनीको शेयर कारोबार उच्च हुन पुगेको छ ।
कुनै समय निफ्रालाई अन्तर्राष्ट्रिय स्टक एक्सचेन्जमा समेत सूचिकृत गराउँछु भन्दै डंका पिटेर शेयर बजारको मूल्य बढाउन भूमिका खेलेका सिईओ खतिवडाले छोडेकै दिन ठूलो मात्रामा शेयर कारोबार हुनुलाई कही न कही कनेक्सनको रुपमा हेरिएको छ ।
निफ्राका सिईओ पदबाट खतिवडाले राजीनामा गरेपछि सञ्चालक समितिले निफ्राकै नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई कम्पनीको निमित्त सीईओको जिम्मेवारी दिइएको हो । नेपाली नाम अनुसार नेपाल पुर्वाधार बैंकलाई निफ्रा भनिन्छ । निफ्राले सर्वसाधारणबाट निक्षेप स्वीकार गर्न र ऋण लगानी गर्न पाउँदैन । यद्यपि परियोजना र विकास पूर्वाधारमा भने लगानी गर्न पाउँनेछ ।
खतिवडा २०७७ साल माघ १ गतेबाट निफ्रामा सीईओ थिए । कार्यकाल सकिन अझै एक वर्ष बाँकी नै हुँदा उनले राजीनामा दिएका हुन् । खतिवडाले राजिनामा दिएकै दिन २२ करोड ३२ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । कूल २१ अर्ब ६० करोड चुक्ता पुँजि भएको निफ्रा पर्याप्त लगानी भएर पनि शेयरको मूल्य भने निकै तल रहेको छ ।