रिलायन्स स्पिनिङ्ग मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने भएको छ । कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण शेयर जारी गर्नेछ । सोमध्ये पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि बिक्री गरिने भएको हो । बाँकी ११ लाख ५५ हजार ९६० कित्ता शेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।
पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बोलकबोल आवेदन दिनेछन् । संस्थागत लगानीकर्ताका लागि न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्म तोकिएको छ । सोही बोलकबोलका आधारमा कटअफ मूल्य तय हुने कम्पनीले बताएको छ । कटअफ मूल्यको १० प्रतिशत न्यूनतम मूल्यमा सर्वसाधारणलाई शेयर जारी गरिनेछ ।
यस कम्पनीले इटहरीमा धागो कारखाना सञ्चालनमा ल्याएको छ । कम्पनीले उक्त धागो देशभरका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्ने साथै भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको जनाएको छ ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि १०.७४ वर्ष रहेको छ ।