झारा टार्ने पृथ्वी जयन्ती, शालिकलाई मालाको सकस !
काठमाडौं । ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौंमा शुक्रबार अनेक दृष्य देखिएका छन् । पृथ्वी जयन्तीको अवसर पारेर सरकारले सार्वजनिक विदा दिएका कारण मान्छेहरु सबै फुर्सदिला देखिए ।
राजावादीहरुले झुण्ड-झुण्ड र खण्ड-खण्डमा जयजयकारको जुलुस निकाले । हिन्दु राष्ट्र र राजसंस्थाका पक्षधर दुई राप्रपा (कमल थापा र राजेन्द्र लिङ्देन)दुबै राष्ट्रिय एकता दिवसमा पनि एकै मञ्चवा थलोमा अटाएनन् । लिङ्देनले भृकुटीमण्डपमा जलपान कार्यक्रम गर्दा कमल थापा टुकुचा खोलावारी बग्गिखानास्थित व्याङ्क्वेटमा चियापान कार्यक्रम गरे ।
लिङ्देनको निम्तोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत भृकुटीमण्डपको जलपानमा पुगे भने । कमल थापाको चियापानमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरु बग्गीखाना पुगे ।
दुई राप्रपाको ‘जलपान–चियापान’मा सरिक भएर गणतान्त्रिक सरकारले पनि पृथ्वीजयन्ती मनाएको छ भने विहानै ‘हेड अफ् स्टेट’ राष्ट्रपति रामचन्द्र पौडेलले रामशाहपथ (सिंहदरबारको पश्चिमीगेट)मा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । सबैले आ–आफ्नो औपचारिकता पूरा गरेर पृथ्वी जयन्ती मनाएका छन् ।
विहान एउटा मालामा गणतान्त्रिक शासकहरुको मुख्यालयअघि उभिइरहेका पृथ्वी नारायणको दिउँसोसम्म मालाले गला थिच्यो । बरा ! नाकमुख नदेखिने गरी, पहिराइएका मालाको सकस झेल्ने छन्, एक दुई दिन् ।
अनि, लिस्नो लगाएर हटाउलान्, सुसारे लक्ष्मण खड्काले । यसदिन पृथ्वीनारायणको दिव्योपदेशबारे कतै हल्काफुल्का चर्चा भएको देखियो । त्यो पनि औपचारिकताका मात्रै । मेलोमेसो नदेखेपछि अधिवक्ता भुपेन्द्र पोखरेल यसरी परिवारसँग एक थान फोटो खिचेर फर्किए ।