क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय, ५ लाख क्षतिपूर्ति भराउन आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कारको कसुरमा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश समेत गरेको छ ।
जिल्ला अदालतका अदालतका सूचना अधिकारी चन्द्र पन्थीका अनुसार राय किताबमा न्यायधीशले ३ लाख र दुई लाख क्षतिपूर्ति भनी उल्लेख गरेका छन् । यसअघि जिल्ला अदालतले पीडितलाई बालिग ठहर गर्दै सन्दीपलाई दोषी करार गरेको थियो । गएको पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो ।
जिल्ला अदालतका अदालतका सूचना अधिकारी पन्थीले भने, ‘प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४को दफा २१९को उपदफा ३ को (ङ) बमोजिम आठ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप दुई लाख रकम क्षतिपूर्ति प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ दिने ठहर्छ ।’
लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो । पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो । २०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटना बाहिरिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई निलम्बन गरेको थियो । वेस्ट इन्डिजमा रहेका लामिछाने नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । पुस १८ गते उच्चले उनलाई २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो ।