नक्कली छोरीलाई नागरिकता दिलाएर अस्ट्रेलिया पठाउने वीरगन्जका मेयरविरुद्ध जाहेरी दर्ता
काठमाडौं । नागरिकता किर्ते गरेको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जाहेरी परेको छ । सिंहले नक्कली बाबु बनेर रुविना श्रेष्ठ नाम गरेकी युवतीलाई वंशजको नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो ।
स्थानीय मोहम्मद सहाबुद्दिनले प्राप्त प्रमाणका अनुसार महानगर प्रमुख सिंहले झुटो विवरण दिएर नागरिकता बनाउन सहयोग गरेकाले उनीमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै प्रशासन कार्यालयमा जाहेरी दर्ता गराएको बताए । जाहेरीमा झुटो विवरणका आधारमा जन्मदर्ता र नागरिकता बनाएको, त्यस आधारमा बनाइएको नागरिकता र राहदानी खारेज गर्न तथा नागरिकता लिने र नक्कली बाबु बनेर नागरिकता दिलाउने मेयर सिंहलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।
१३ साउन ०७५ मा वीरगन्ज महानगरपालिका– ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलोपटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ । ८ फागुन ०७६ मा प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले श्रेष्ठको नाममा प्रतिलिपि नागरिकता जारी गरेका छन् । रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने नखुलाइएको अवस्था छ ।
नागरिकतामा किशोरीको जन्ममिति ३० असार ०५९ उल्लेख छ । पहिलोपटक १३ साउन ०७५ मा षडकुमार पोखरेलद्वारा किशोरीको नागरिकता जारी गर्दा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल थिए । गैरकानूनी ढंगबाट नागरिकता प्राप्त गरेकी किशोरी रुविना हाल राहदानी बनाएर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वीरगन्ज महानगर प्रमुख सिंहले झुटो कागजपत्र पेश गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने बताए । प्रमुख सिंहको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एउटा छोरा अनिशमानसिंह श्रेष्ठ मात्रै छन् ।