दूरसञ्चार प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु, खनालको राजीनामा स्वीकृत
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले विभागीय मन्त्रालयमार्फत अध्यक्ष खनालले दिएको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी दिइन् ।
उनका अनुसार मन्त्रिपरिषदले प्राधिकरणमा नयाँ अध्यक्ष सिफारिसका लागि विभागीय सचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय समेत भएको छ । समिति गठनसँगै प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको मन्त्री शर्माले बताईन् । खनालले स्वेच्छाले राजीनामा बुझाएको जानकारी दिइएको छ । खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
अहिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को पूर्ण कार्यान्वयनमा समस्या आइरहेको छ भने टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको विषय छानविनमा छ । उता, इन्टरनेट सेवा प्रदायकहरूसँग कर असुलीलगायतका मुद्दा चलिरहेको समयमा प्राधिकरणका अध्यक्ष खनालले स्वेच्छाभन्दै राजीनामा दिएका बताइएको छ ।