बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि डायनोस्टिक किट्स रि-एजेन्ट (भिडास) खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । प्रतिष्ठानका तत्कालीन रजिष्ट्रारसहित ५ जनालाई विशेष अदालतले सफाइ दिएपछि विशेषको फैसला बदरको मागसहित अख्तियार पुनरावलोकनका लागि सर्वोच्च पुगेको हो ।
विशेष अदालतको फैसलामाथि चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । प्रतिष्ठानले विभिन्न मितिमा डायनोस्टिक किट्ससहित विभिन्न सामाग्रीहरु ४ करोड ८ लाख ९६ हजार १९ रुपैँया ७१ पैसामा खरिद गरेकोमा भ्रषटाचार भएको दाबी गरेको थियो । तर, विशेष अदालतले भ्रष्टाचार गरेको भन्ने कुरा पुष्टि नभएको भन्दै सफाइ दिएको थियो ।
सामान खरिद गर्दा प्रचलित मूल्यभन्दा अस्वाभाविक बढी मूल्य तिरेर प्रतिष्ठानले खरिद गरेको भन्दै आयोगले तत्कालीन उपकुलपति बलभद्रप्रसाद दाससहित अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, रजिष्ट्रार नन्द कुमार थापा, तुल बहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेश राज दाहाल, डेपुटी म्यानेजर अमिन श्रीवास्तव, सामान उपलब्ध गराउने उपकरण सप्लायर्स प्रेसिजन मेडिकल प्रालि (बायोमेड इन्टरनेश्नल प्रालि) का प्रोपाइटर चेतन अग्रवाल र सर्जिकिम डिस्ट्रिब्यूटर्सका प्रोपाइटर उमेश अग्रवालविरुद्ध २०७६ असार ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले दास, सिन्हा र थापालाई १ वर्ष कैद र २५ हजार जरिवानाको फैसला गर्दै अन्य ५ जनालाई सफाई दिएपछि अख्तियार पुनरावलोकनका लागि सर्वोच्च पुगेको हो । सामान खरिद गर्दा उपकुलपति दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा, तत्कालीन अस्पतालका निर्देशक सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैयाँ ७१ पैसा, तत्कालीन रजिष्ट्रार थापाले १ करोड ९६ लाख ९ हजार ८८० र अर्का रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४०५ रुपैँया भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको थियो ।