किस्ताबन्दीमा विद्युत् वक्यौता बुझाउन उद्योगीले ३० दिनभित्र निवेदन दिइसक्नुपर्ने

२४ पुष २०८०, मंगलवार ०९:४३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर बक्यौता नतिर्ने उद्योगीलाई किस्ताबन्दीमा रकम तिर्न ३० दिनभित्र आवेदन दिन सार्वजनिक आह्वान गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले मंगलबार सूचना प्रकाशित गरेर एक पटकमा बढीमा ६० महिनासम्मको किस्ताबन्दी बुझाउने पाउने सुविधा दिएकाले ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा आवेदन दिन भनेको हो ।

प्राधिकरण सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले ६० महिनासम्मको बक्यौतामा किस्ताको सुविधा दिने निर्णय गरेको थियो । सोमबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि प्राधिकरणले ३० दिनभित्र आवेदन दिनुपर्नेगरी सूचना प्रकाशन गरेको हो ।

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्ने विषयमा सोमबार प्रधानमन्त्री प्रचण्डले ऊर्जामन्त्री शक्ति बहादुर बस्नेत, ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, मुख्यसचिव बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ लगायतलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले प्राधिकरणलाई व्यवसायीले भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ताको राय समेत लिएर अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*