यस्तो छ राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली

२२ पुष २०८०, आईतवार १६:५७

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले पूर्व निर्धारित निर्वाचन कार्यक्रम अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । निर्वाचन आयोगले पुस २० गते, शुक्रबार प्रकाशित नामावलीमा दाबी विरोधको उजुरी लिइ, उजुरीमाथि छानबिन गरेर आइतबार अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन आयोगले यसअघि स्वीकृत गरेको नामावलीअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या २ हजार ४७ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जना छन् ।

प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ । यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको थियो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको पदाधवधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनित बाहेक १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको छ ।

फागुन २० गते कार्यकाल सकिनेमा प्रमुख प्रतिपक्ष एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन् । राष्ट्रपतिबाट मनोनित हुनेमा भूमिगत भनिएका मोहनविक्रम सिंह कि पत्नी दुर्गा पौडेललाई सिफारिस गर्ने सहमति भएको बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*