ठगी तथा हुण्डी नाइकेका रुपमा चिनिएका सफलराज कुँवर सिंगापुरबाट नेपाल फर्किनासाथ पक्राउ
काठमाडौं । ठगी तथा हुण्डी नाइके भनेर चिनिएका सफलराज कुँवर त्रिभुवन विमानस्थल ओर्लिने वित्तिकै पक्राउ परेका छन् । सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्लिनेवित्तिकै कुँवर पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार कुँवरलाई शनिबार राति प्रहरीले अध्यागमनको डेस्क नजिकैबाट पक्राउ गरेको हो । सिंगापुर एयरलाइन्सको उडानमार्फत उनी काठमाडौं आएका थिए ।
पक्राउ परेका कुँवरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । त्यसपछि मात्रै कँवरलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
मकाउ लैजाने भनेर सयौं युवाहरुबाट करोडौं रुपैयाँ ठगी गरेको आरोप कुँवरमाथि छ । ठगीसँगै उनी हुण्डी कारोबारी समेत भएको सीआईबीले जनाएको छ । ५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहे पनि कुँवर नेपालमा नभएकाले बच्दै आएका थिए ।
कुवँरसहितको समूहले मकाउमा बसेर हुण्डीको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । कुवँरसँगै मकाउमा खेमशंकर भण्डारी, राजेन्द्र खड्का, रवीन्द्रनारायण चौधरी मिलेर हुण्डीको कारोबारमार्फत पैसा विदेश लैजाने गरेको अनुसन्धानले देखाएको छ ।
यो गिरोहका केही व्यक्ति यसअघि नै पक्राउ पर्दा हुण्डीलगायत विदेश पठाउने भनेर विभिन्न व्यक्तिबाट उठाएको रकमको विवरण भएको डायरी समेत बरामद भएको थियो ।