जीवन बीमा कम्पनीको कुन बीमा पोलिसी बीमितको रोजाईमा पर्छन् ?
काठमाडौं । जीवन बीमा कम्पनीहरु अझै पनि सरकारले अनिवार्य गरेको म्यादी बीमा मै बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेको देखिएको छ। सरकारले म्यादी बीमा अनिवार्य गरेको छ।
जीवन बीमाका बीमितले ९ प्रकारका बीमालेख मध्ये तीनवटा बीमालेख सबैभन्दा धेरै खरिद गर्ने गरेको पाइएको छ । १४ वटा जीवन बीमा कम्पनीले ९ प्रकारका बीमालेख बिक्री गर्दै आए पनि बीमितको रोजाईमा भने तीनवटा बिमालेख पर्दै आएका हुन् ।
मंसिरसम्म सक्रिय रहेको जीवन बीमालेखको आधारमा हेर्ने हो भने बीमित रोजाइमा सबैभन्दा धेरै म्यादी जीवन बीमालेख परेको देखिन्छ ।
प्राधिकरणका अनुसार मंसिरसम्म म्यादी जीवन बीमातर्फ ४० लाख वटा बीमालेख सक्रिय छन् । यो बीमालेख बागमती प्रदेशमामात्रै १० लाख वटा जारी भएको छ ।
यो बाहेक बीमितको रोजाइको दोस्रोमा लघु जीवन बीमा र तेस्रोमा सावधिक जीवन बीमा पर्ने गरेका छन् ।प्राधिकरणका अनुसार लघु जीवन बीमातर्फ ३५ लाख ५१ हजार वटा बीमालेख सक्रिय छन् । रोजाइका आधारमा तेस्रोमा रहेका सावधिक जीवन बीमामा भने २१ लाखवटा बीमालेख सक्रिय रहेका छन् ।
कुल १ अर्ब ३७ लाख जीवन बीमालेख सक्रिय रहँदा यी तीन बीमालेखको संख्या उल्लेख्य रहेको हो । यो बाहेक वैदेशिक रोजगार बीमालेख चौथो नम्बरमा आएको छ ।
मंसिरसम्म बीमितले खरिद गरेका मध्ये १८ लाख ६६ हजार वटा बीमालेख बैदेशिक रोजगार बीमालेख रहेका छन् । तर यो बीमालेख भने अन्य बीमालेख जस्तो सातवटै प्रदेशमा जारी भएका छैनन् । बागमती प्रदेशमा मात्रै वैदेशिक रोजगार बीमालेख ठूलो संख्या सक्रिय तथ्यांकले देखाएको हो ।