धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालकोे २१ महिने कार्यकाल कस्तो रह्यो ?

२० पुष २०८०, शुक्रबार १६:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल आज पुस २० गते शुक्रबार सकिएको छ । उनको २१ महिने कार्यकाल आज सकिएको हो ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बाँकी कार्यकाल अर्थात् २१ महिनाका लागि हमाल अध्यक्षमा नियुक्त भएका थिए । उनले २०७८ फागुन ५ गतेदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । हमालले छोटो समयमा समयमै नेपालको पुँजी बजारको विकास र विस्तारका लागि केही महत्वपूर्ण कामहरु गरेका छन् । उनले लामो समयदेखि लगानीकर्ताले माग राखेको नयाँ ब्रोकरलाई लाइसेन्स दिए ।

लाइसेन्स पाएका अधिकांश ब्रोकर कम्पनीहरुले कारोबार थालिसकेका छन् । तथापि, त्यसमा आर्थिक चलखेल भएको टिका टिप्पणी नभएको भने होइन । हमालले नेपालको पुँजी बजारको इतिहासमै पहिलो पटक बुक बिल्डिङबाट सेयर जारी गर्ने, समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारबाही, सि–आस्वा शुल्क घटाउने, रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन प्राथमिक सेयर निष्कासन व्यवस्थालगायतका काम गरेका छन् ।साथै, साना तथा मझौला लगानीकर्ताका लागि ‘एसएमइ प्ल्याट फर्म’ नयाँ स्टक एक्सचेञ्ज ल्याउने बाटो खुलाएका छन् ।

मर्जरपछि लामो समयसम्म बन्द हुने सर्वसाधारणको सेयरमा नयाँ व्यवस्था, कोटाको म्युचुअल फण्डमा ६ महिनाको लकिङ पिरियड, जलविद्युत् कम्पनीको सेयर जारी तथा खरिद बिक्रीमा नयाँ व्यवस्था गरेका छन् ।त्यस्तै, जलविद्युत समूहको कम्पनीहरुका लागि नयाँ व्यवस्था लागू गरेका छन् ।

जलविद्युत कम्पनीले भौतिक पूर्वाधारको कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेश गरे पश्चात मात्र बोर्डबाट अन्तिम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छन् । साथै, जलविद्युत कम्पनीका संस्थापकहरुले लकइन अवधि पश्चात शेयर बिक्री गर्नका लागि कम्पनीले अनिवार्यरुपमा विद्युतको व्यापारिक उत्पादन गरेको हुनुपर्ने, जलविद्युत कम्पनीले हकप्रदन निष्कासन गर्न कम्पनीको नेटवर्थ चुक्ता पुँजी भन्दा कम नरहेको हुनुपर्ने व्यवस्था गरेका छन् ।साथै, एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरफेस ९एपीआई०सम्बन्धी व्यवस्था, धितोपत्र व्यवसायीका कर्मचारीलाई सर्टिफिकेसन् प्रोग्राम संचालनको नीतिगत निर्णय, स्वतन्त्र सञ्चालकसम्बन्धी विशेष व्यवस्था, सूचीकृत कम्पनीका लागि रिर्पोटिङ ढाँचा तयार पार्ने लगायतको काम गरे ।

तथापि, उनले गरेको कामको बारेमा सकारात्मक र नकारात्मक दुवै थरीका टिकाटिप्पणी हुँदै आएको छ । यसैबीच संघीय संसद्को लेखा समितिले पुस १३ मा हमालको व्यक्तिगत सम्पत्तिलगायत कार्यकालमा भए÷गरेका विभिन्न काम–कारबाहीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिएको छ ।उक्त निर्देशनसँगै हमालको बोर्ड अध्यक्षमा पुनर्नियुक्तिको सम्भावना कम रहेको छ । यद्यपि, सरकारले चाहे बोर्ड अध्यक्ष हमाललाई दोस्रो कार्यकालका लागि पनि नियुक्त दिन सक्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*