भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने, यस्तो छ चारबुँदे सहमति
काठमाडौं । भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा यस सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
होटल याक एन्ड यतीमा भएको बैठकमा मुख्य ४ बुँदामा सहमति भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए । १० हजार मेगावाटको पावर ट्रेड स्याटेलाइट प्रक्षेपणका लागि सघाउने विषयसँग सम्बन्धित रहेको उनले जानकारी दिए ।
नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने राईले बताए ।
यसैगरी हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा पनि हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म लगानी गर्नसक्ने छ ।
भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमतिसमेत भएको राईले बताए ।
यसैगरी नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्युत सम्झौतामा हस्ताक्षरसमेत भएको छ । सम्झौता अनुसार भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्नेछ ।