हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीको नाममा रहेको ७८ हजार ४२ कित्ता शेयर बिक्रीमा ल्याएको छ। हाल कम्पनीमा कायम संस्थापक शेयरधनीले मात्रै उक्त शेयर किन्न आवेदन दिन पाउनेछन्।
बैंकले सुव्वा प्रसाद लामिछानेको नाममा रहेको ५ हजार २९१ कित्ता, आशामान तण्डुकारको ११ हजार ६९३ कित्ता, कालु गुरुङको ५९ हजार २५९ कित्ता र तिर्थ राज नेपालको १ हजार ७९९ कित्ता शेयर बिक्रीमा राखेको हो।
शेयर खरिद गर्न इच्छुक शेयरधनीेले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंस्थित कानून तथा शेयर विभागमा आवेदन दिनुपर्नेछ। साथै, शेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक रहेकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।