नेपाल आउनासाथ भारतीय विदेशमन्त्री जयशंकर सीधै राष्ट्रपति निवास पुगे
काठमाडौं । भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले नेपाल आउनासाथ पहिलो भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग गरेका छन् । विदेशमन्त्री जयशङ्करले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए ।
उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरे ।
भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताए । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागि हुन विदेशमन्त्री डा. जयशङ्कर बिहीबार विहान मात्रै काठमाडौं ओर्लिएका थिए ।