तीन कम्पनीको लाभांश सहित एकको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन
तीन कम्पनीको लाभांश र एकको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल तराई र मन्दाकिनी हाइड्रोपावरले भोली बुकक्लोज गर्दैछ भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्काशन प्रयोजनार्थ पुस २२ गते आइतबार बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेका कारोबार भए कायम शेयरधनीहरुले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स ले हाल कायम चुक्ता पूँजीको ५।०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २९ औँ वार्षिक साधारण सभा बोलाएको छ।
बोटलर्स नेपाल तराई ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ बजे शुरु हुनेछ। सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर ले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४।७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।