६३ हाइड्रोपावर कम्पनीले मात्रै बोलाए साधारण, लाभांश दिने निकै न्यून

१९ पुष २०८०, बिहीबार ०६:५८

काठमाडौं । नेप्सेमा सूचीकृत ९१ कम्पनीमध्ये ६३ हाइड्रोपावर कम्पनीले मात्रै अहिलेसम्म साधारण सभा बोलाइसकेका छन् । साधारण सभा आह्वान गरेका ६३ कम्पनीमध्ये ५० कम्पनीले लगानीकर्ताको हात खाली गरेका छन् । ५० हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैनन ।

हाइड्रोपावर समूहको कम्पनीहरुमा हरेक वर्ष नियमित लाभांश दिने चिलिमे हाइड्रोपावर कम्पनीले यस वर्ष सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरेर कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कालिका पावर, रुरु जलविद्युत परियोजना, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मान्डु हाइड्रोपावर र सानिमा माई हाइड्रोपावरले भने यसपटक १० प्रतिशतको हाराहारीमा लाभांश वितरण गरेको छ । रुरु, भगवती र मान्डुले नगद लाभांश मात्रै दिएका छन् भने सानिमा माइ हाइड्रोपावर र कालिका पावरले भने यसपटक १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर बापतको नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।

लाभांश बाँडेका अन्य हाइड्रोपावर कम्पनीले भने १० प्रतिशत भन्दा मुनि लाभांश बाँडेका छन् । नेपाल हाइड्रो डेभलपरले ७ प्रतिशत बोनस र त्यसमा लाग्ने करको लागि ०।३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने सिक्लेस हाइड्रोपावर र बिन्ध्यवासिनी हाइड्रोपावरले क्रमशः ६ र ५ दशमलब २६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

मन्दाकिनी हाइड्रोपावर र राधी विद्युतले ४ दशमलब ७५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने शून्य दशमलब २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन भने बुटवल पावरले ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सुपर मादी हाइड्रोपावरले भने २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

आर्थिक मन्दीका कारण धेरै कम्पनीहरुले गत वर्ष नाफामा सञ्चालन हुन सकेनन । हरेक वर्ष लाभांश दिने वाणिज्य बैंकहरुमध्ये नै ५ वटा बैंकले लाभांश नदिने र ३ वटाले अझै लाभांश घोषणा गरेका छैनन । यस्ता अवस्थामा १३ वटा हाइड्रोपावर कम्पनीले औसतमा ७ दशमलब ९० प्रतिशत लाभांश घोषणा गरेका छन् । गत वर्ष तरलता अभावका कारण व्याज दर अत्यधिक महंगो हुँदा विद्युत बेचेर कमाएको हाइड्रोपावर कम्पनीको नाफा जति व्याज तिर्नमा खर्च भएकाले नाफा बढ्न नसकेको हाइड्रोपावर सञ्चालकहरु बताउँछन् । हाइड्रोपावर कम्पनीले रिजर्भमा रहेको पैसा शेयर बजार लगायत अन्य क्षेत्रमा लगानी गरेर समेत नाफा बढाउने गर्दछन् । गत वर्ष शेयर बजार पनि बियरिस ट्रेन्डमा चलेकाले त्यहाँबाट पनि राम्रो नाफा कमाउन सकेनन ।

यसको फलस्वरुप अधिकांश हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्न नसक्ने अवस्थामा आएको एक हाइड्रोपावर सञ्चालकले बताए । पछिल्लो समय धेरै हाइड्रोपावर कम्पनीले आफूले लिएको दीर्घकालीन ऋण घटाउनको लागि हकप्रदको प्रस्ताव गरेका छन् । विद्युत नियमन आयोगले ऋण तिर्ने प्रयोजनको लागि हकप्रद दिने नीति लिएपछि धेरै घाटामा गएका हाइड्रोपावर कम्पनीले हकप्रद शेयरको प्रस्ताव गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*