मेयर बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका ३ कर्मचारी निलम्बित
काठमाडौं । मुलुककै जेठो काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । काठमाडौं महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको महानगरका प्रशासन विभाग प्रमुख दिपक अधिकारीले बताए ।
अधिकारीले भने, ‘कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरी उहाँहरूले स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारीलाई निरन्तरता दिने निर्णयमा प्रमाणीकरण गर्नुभयो । सुरूमा कार्यापालिकाको निर्णयअनुसार गरे पनि पछि भने फरक व्यहोरा उल्लेख गरिएको भेटिएको छ ।’
कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको विभागीय प्रमुख अधिकारीले बताए । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । त्यसमा वरिष्ठ शाखा अधिकृत विडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ ।
त्यो प्रबर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’को आर्थिक सहयोगमा चलिरहेको थियो । सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो । मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अनियमितताबारे सचिवालयमा सूचना प्राप्त भएको बताए ।
‘कार्यपालिकाको निर्णय नै तोडमोड गरेको सूचना पाएपछि के रहेछ भनेर बुझेका थियौं,’ शाहले भने, ‘त्यसमा अनियमितता भएको पाइएपछि सम्बन्धित व्यक्तिहरूलाई निलम्बन गरी समिति गठन गरेर छानबिन गरिरहेको छ ।’
प्रमुख प्रशाशकीय अधिकृत आफैं यस घटनामा संलग्न भएको पाइएपछि उनलाई छानबिन कार्य नसकुन्जेल मेयरले बिदामा बस्न भनेको सचिवालयका कर्मचारीले बताएका छन् । घटनाबारे छानविन गर्न सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा कानून सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन् । छानविनको प्रतिवेदन अनुसार उनीहरुलाई कारबाही गरिने बताइएको छ ।