एमजीको विद्युतीय कारमा चार्ज जोडेकै ठाउँमा आगलागी, गाडी पूरै ध्वस्त

१७ पुष २०८०, मंगलवार १५:५३

काठमाडौं । एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङ गर्दा गर्दै आगलागी भएको छ । आगलागीले गाडी जलेर ध्वस्त भएको छ । केही दिनअघि मात्रै भएको यो आगलागीको घटना गुपचुप राखिएकामा अहिले आएर सार्वजनिक भएको हो । घटना बुढानीलकण्ठ नगरपालिका–३ देउवा चोक नजिकै भएको स्थानीय प्रहरीले जनाएको छ । बागमती प्रदेश–०१ ०२७ च १५८१ नम्बरको गाडी खाली चौरमा पार्किङ गरिएको थियो ।

पार्किङमा राखेर चार्जमा लगाइएको गाडी खुला स्थानमा रहेकाले अन्य धनजनको क्षति नभएको काठमाडौं प्रहरी परिसर बुढानीलकण्ठ प्रभागका इन्सपेक्टर योगराज खतिवडाले बताए । प्रहरी मुचुल्कामा चार्जिङका क्रममा राति १ बजे गाडीमा आगलागी भएको उल्लेख छ । तर त्यसको यकिन कारण भने खुलाइएको छैन । गाडी धनी गोरखाका सुदीप लामिछाने हुन् । प्रहरीका अनुसार लामिछाने आफन्तको घरमा आएका बेला चार्जिङका क्रममा गाडीमा आगलागी भएको हो ।

सवारी धनी लामिछानेले गाडीमा भएको आगलागीका विषयमा कम्पनीसँग कुराकानी भइरहेको बताएका छन् । तर, असली कारण उनले खुलाएनन् । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले यो विषयमा अनुसन्धान नसकिएसम्म केही नबोल्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*