सिटिजन लाइफद्धारा लाभांश वितरण गर्ने निर्णय, पाँच अर्ब चुक्ता पुँजि पुरा

१७ पुष २०८०, मंगलवार ०७:२२

काठमाडौं । केही पहिले मात्रै आईपिओ निष्काशन सम्पन्न गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्षसम्म आर्जित मुनाफाबाट लाभांश बापत बोनस शेयर र कर प्रयोजनको लागि नगद दिने निर्णय गरेको छ । छ वर्षअघि स्थापना भएको कम्पनीले नियामकीय प्रक्रिया पुरा गरी पहिलो पटक लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हिजो पुस १६ गते बसेको सञ्चालक समितिको बैठकबाट यस्तो निर्णय भएको हो । आव २०७९/८० सम्ममा आर्जित मुनाफाबाट आफ्ना शेयरधनीलाई पाँच प्रतिशत बोनस शेयर र शुन्य दशमलव २६ प्रतिशत नगद कर प्रयोजनका लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको कूल चुक्ता पुँजि ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । सो को पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्न लागिएको हो । लाभांश वितरणपछि कम्पनीको कूल चुक्ता पुँजि तीन अर्ब ९३ करोड रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपिओ निष्काशन गरेर एक अर्ब ६२ करोड रुपैयाँ कोषमा संचित गरेको छ । प्रिमियम बापतको रकम पुँजिको रुपमा गणना गर्न पाइने नियामक बीमा प्राधिकरणले व्यवस्था गरेकोले सिटिजन लाइफले पाँच प्रतिशत बोनससँगै नियामकले तोकेको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजिको सीमा पुरा गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*