‘साइबर आक्रमण’ले प्रधानमन्त्री कार्यालयसहित अधिकांश सरकारी वेबसाइट डाउन, कामकाज प्रवावित
काठमाडौं । प्रधानमन्त्री कार्यालयसहित सबै विभागीय मन्त्रालय तथा सरकारी निकायका वेबसाइटहरु डाउन भएपछि सरकारी कामकाज प्रभावित भएको छ । वेबसाइट डाउन भएपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणको प्रवेश पासदेखि अधिकांश प्रशासनिक कामहरु प्रभावित भएका हुन् ।
आइतबारदेखि नै अधिकांश वेबसाइटहरु डिस्टर्ब भएको र अहिले समस्या पहिचान गरी मर्मतको काम भइरहेको प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले बीमापोष्टलाई बताए । प्रधानमन्त्री कार्यालयसहित सबै विभागीय मन्त्रालयका वेबसाइट कुनै पनि खुलेका छैनन् ।
जिल्ला प्रशासन, अस्पताल तथा अन्य सरकारी निकायका वेबसाइटहरु समेत अवरुद्ध छन् । ललितपुर महानगरको वेबसाइट खुल्दा काठमाडौं महानगरको वेबसाइट पनि खुलेको छैन । सर्वोच्च अदालको वेबसाइट भने सामान्य रुपमा चलिरहेको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकाले साइटहरु बन्द भएका हुन् । ‘सरकारी साइटहरुमा धेरै ट्राफिक आइरहेका छन् । यसको अर्थ हाम्रो साइटहरुमा कसैले आक्रमण गरिरहेको छ, केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले भने, ‘हामीले अहिले ट्राफिक हटाउने काम गरिरहेका छौं । अत्यधिक ट्राफिक भएका साइट बाहेक अन्य साइट बिस्तारै खुल्दैछन् ।’
सरकारी वेबसाइटहरुमा कहाँबाट आक्रमण भइरहेको भन्ने थाहा नभएको र भीपीएन प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको चौहानले बताए । सुरक्षा उपकरणहरु अपग्रेड पनि भएको छैन, त्यसकारण पनि प्रतीरक्षामा केही समस्या उनको भनाइ छ ।