नेप्सेको अनलाइन प्रणाली जोखिम, स्वार्थको द्वन्द्वले कारोबारको विश्वसनीयता माथि शङ्का
काठमाडौं । नेप्सेको अनलाइन प्रणालीमा जोखिम भएको धितोपत्र बोर्डले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
बोर्डले सूचना प्रविधि विज्ञ सरोज लामिछानेको संयोजकत्व एक अध्ययन कमिटी गठन गरेको थियो। सो कमिटीलाई असोज ७ गते स्थलगत निरीक्षण गर्न भन्दै पत्र दिएको थियो। कमिटीमा बोर्डका निर्देशक रेवत श्रेष्ठ र सनु खड्का तथा सहायक निर्देशक यमनाथ अर्याल र रवीन्द्रदेव भट्ट सदस्यका रुपमा रहेका थिए।
स्थलगत निरीक्षण टोलीले नेप्सेको अनलाइन प्रणालीमा कैफियत देखिएको र त्यसलाई तत्काल सुधार गर्न भन्दै सुझाव समेत दिएको छ। टोलीले देखेको सबैभन्दा पहिलो कैफियतमा नेपाल स्टक एक्सचेन्जले सञ्चालन गरिएको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम ९टिएमएस० र नेप्से अनलाइन ट्रेडिङ सिस्टम ९नट्स० दुवै एउटै कम्पनीको रहेकोले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम २१ ख को उप नियम ९४० विपरीत रहेको प्रतिवेदनमा औँल्याइएको छ। जसले प्रचलित नियमको परिपालना नभएको र स्वार्थको द्वन्द्व उत्पन्न भई कारोबारको विश्वसनीयतामा शङ्का उत्पन्न भएको प्रतिवेदनमा भनिएको छ।
दोस्रो कैफियतमा कारोबार मिलान प्रणाली ”म्याचिङ इन्जिन” जस्तो संवेदनशील प्रणालीमा अझै पनि कारोबार स्कृप वाइज म्याचिङ इन्जिन इन्सटेन्समा लोड व्यालन्स गर्न म्यानुअल कार्य गर्ने गरेको टोलीले स्थलगत निरीक्षणको क्रममा भेटेको छ। जसले गर्दा के को आधारमा र कुन स्कृपलाई कति रिसोर्स दिने भन्ने स्पष्ट दिग्दर्शन नभएकोले अहिले व्यक्तिगत तजबिजीको आधारमा रिसोर्स मिलान गर्दा पूर्वाग्रही हुन सक्ने तथा नट्स सञ्चालनको लागि आवश्यक पूर्वाधार नभएको प्रतिवेदनमा ठहर्याइएको छ।
टोलीले सबैभन्दा ठुलो आशङ्का अनलाइन सिस्टम तयार गर्ने कम्पनीका कर्मचारीलाई गरेको छ। नट्सको बिक्री र मर्मत सम्भार गर्ने कम्पनी वाइकोले नेप्सेले सञ्चालनमा ल्याएको डाटा सेन्टरका फायरवाल,डेटाबेस र एक्टिभ डाइरेक्ट्री जस्ता महत्त्वपूर्ण प्रणालीहरूमा सहज पहूँच रहेको भेटेको छ। उता नेप्सेले आफ्नो तर्फबाट कुनै पनि प्रकारको लग व्यवस्थापन नगरेको टोलीले पाएको छ। “जसले गर्दा वाइकोका कर्मचारीहरुद्वारा नेप्सेको प्रणालीमा परिवर्तन थाहा हुने अवस्था नरहेको” प्रतिवेदनमा भनिएको छ।
यसै गरी नेप्सेले आफ्नो डेटा माइग्रेसन गर्दा केही डाटा हराएको भनेको छ। तर कुन डाटा हराएको हो भनेर अध्ययनको लागि टोलीले माग गर्दा लग नै नरहेको भनेर नेप्सेले गैर जिम्मेवार तरिकाले उत्तर दिएको प्रतिवेदनमा भनिएको छ।
अझै नेप्सेले दलाल कम्पनीहरूलाई आवश्यकता भन्दा बढी क्षमताको प्रविधिको भार बोकाएको आरोप समेत प्रतिवेदनमा लगाइएको छ।
कैफियतसँगै अध्ययन कमिटीले निष्कर्ष र सिफारिस समेत गरेको छ। तर उक्त प्रतिवेदन अनुसार धितोपत्र बोर्डले नेप्सेलाई आवश्यक निर्देशन भने दिइसकेको छैन।