सुर्यज्योति लाइफद्धारा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन, बीमापोष्टद्धारा कर छली र बीमित ठगिएको सत्य भएको भनाई
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रेस काउन्सिल नेपालमार्फत बीमापोष्टमा प्रकाशित समाचारहरुको एकमुष्ठ खण्डन गरेको छ । बीमापोष्टमा प्रकाशित कर छली र बालबीमा पोलिसीमा ठगी सम्बन्धी फरक फरक समाचारहरुको आज एकैसाथ खण्डन गरेको हो । बीमापोष्टले सुर्यज्योति लाइफले गरेको कर छली सत्य भएको र बाल बीमापोलिसीमा बीमित बालबालिकाहरु ठगीको सत्य भएको भन्दै प्रतिरक्षा गरेको छ ।
सुर्यज्योति लाइफको तर्फबाट मेघेन्द्र प्रकाश गिरी (चिफ, कम्युनिकेशन एण्ड ब्राण्डिङ) ले प्रेस काउन्सिल नेपालमार्फत गराएको खण्डन जस्ताको तस्तै अंश र बीमापोष्टको भनाईः
मिति २०८० पुष १३ गते
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३३७
श्रीमान अध्यक्ष ज्यू
प्रेस काउन्सिल नेपाल
महोदय,
उपरोक्त सम्बन्धमा विभिन्न मिति अन्तर्गत तल उल्लेखित अनलाईन मिडियाहरुद्वारा फरक फरक शीर्षक राखी कपोलकल्पित, भ्रामक कम्पनीकै साखमा आँच आउने किसिमका समाचार सम्प्रेषण गरेको हुदा उक्त सम्पूर्ण प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण गर्दै घोर आपत्ति जनाएको जानकारी गराउँदछौं । क्रमशः कल्पाना गरि बनाईएका समाचार र उक्त समाचारको खण्डन तल जनाइएको छ ।
बीमापोष्टमा प्रकाशित समाचारहरुमाथि सुर्यज्योति लाइफको खण्डनः
१. मिति २०८० मंसिर २८, तत्कालिन ज्योति लाइफमा कयौं खर्चहरु बेरुजु, होला त सिईओ प्रकाश विक्रम खत्रीमाथि कारवाही ?
२. मिति २०८० पुष ३, सूर्यज्योति लाइफद्धारा झुठो विवरण बुझाएर कर छली, कूल आय– एक अर्ब ४८ करोड, कर कार्यालयमा जम्मा ४९ करोड
मंसिर २८ खण्डनः
ज्योति लाइफको वासलात बीमा प्राधिकरणमा पेश भएको र उल्लेखित त्यस्तो कुनै अवस्था नरहेको साथै प्राधिकरणबाट पनि उल्लेखित कुनै पनि अवस्था नआएको कुरा जानकारी गराउन चाहन्छु ।
पुष ३ मा प्रकाशित समाचारः
जीवन बीमा कम्पनि कर प्रयोजनको लागि घाटामा रहने र सोको कारण कुनै मुनाफामा कर तिर्न नपर्ने प्राबधान बमोजिम सूर्यज्योति लगाएत अन्य सबै कम्पनीहरुले यहि अनुसार ट्याक्स फिलिङ गरेको पनि जानकारी गराउँदछु ।
बीमापोष्टको भनाईः सुर्यज्योति लाइफले कर छली गरेकै हो । बीमापोष्टले प्राप्त गरेको कागजातहरु मध्ये करचुक्ता प्रमाणपत्रमा जम्ममा आय ४९ करोड मात्रै देखाएर दाखिला गरेको कर शून्य उल्लेख गरिनु सरासर कर छली नै हो । राज्यको लाइसेन्सिङ क्षेत्रमा आएर बीमा सेवा सम्बन्धी व्यवसाय गर्ने तर कर नतिरी राज्यलाई ठगी गर्ने कार्य अपराधी हो । साथै राजश्व अनुसन्धान विभागमा परेको उजुरी उपर कारवाही सुरु भइकेकोले भविष्यमा कर छलीको पुष्टि हुने नै हुँदा थप खण्डन गरिरहनु परेन । साथै प्रेस काउन्सिल नेपालले पनि कर छलीका अपराध सम्बन्धी समाचारको खण्डन गर्न निर्देशन दिनुअघि समाचारमा उल्लेख भएको प्रमाणहरु समेत हेर्न अनुरोध गर्दछौं । उक्त प्रमाण यहाँ पुनः प्रकाशित गरिएको छ ।
३. मिति २०८० पुष ५,सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम बहन नगर्ने बाल बीमा पोलिसी बिक्री गरेर ठगी गर्दै
४. मिति २०८० पुष ९ बिमितकै जोखिम नव्यहोर्ने सूर्यज्योति लाइफको शर्त, प्राधिकरणको सामान्य त्रुटिमा टेकेर ठगिधन्दा चलाउदै
पुष ५ र पुष ९ मा बीमापोष्टमा प्रकाशित समाचारको सुर्यज्योति लाइफको खण्डनः
सुर्यज्योति लाइफ कम्पनीद्वारा बाल जीवन बीमामा बीमित बच्चाको सुरक्षण गैरकानूनी रुपमा घटाएर बीमाङ्कको २५ प्रतिशत मात्र कायम गरिएको भनि छापिएको खबर प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बाल जीवन बीमामा गरिएको परिवर्तन बीमितको हक हित समाप्त पार्न नभई बीमितलाई थप सुविधा दिने हेतुले बीमा क्षेत्रको नियमकारी निकाय श्री नेपाल बीमा प्राधिकरणबाट जारी “जीवन बीमा निर्देशिका, २०८०” तथा श्री नेपाल बीमा प्राधिकरणबाट निर्देशन बमोजिम कम्पनीका बीमाङ्गीसँगको परामर्श गरी कम्पनीद्वारा बाल जीवन बीमा “ज्योति सुनौलो भविष्य जीवन बीमा” मा आवश्यक संसोधन गरिएको र संसोधित बीमालेख गरिएको हो । परिवर्तित बीमालेख बजारमा प्रचलनमा ल्याउन पूर्व नेपाल बीमा प्राधिकरणबाट मिति २०८०÷०६÷२९ मा स्वीकृति प्राप्त गरि मिति २०८०÷०७÷०१ देखि लागु गरिएको जानकारी गराउँदछौं । कुनै एक कम्पनी विशेषको हकमा मात्र लागु नभई सबै जीवन बीमा कम्पनीलाई लागु हुने गरि श्री नेपाल बीमा प्राधिकरणबाट जारी उक्त निर्देशन अनुसार बच्चाको बीमामा सुविधा घटेको नभई समग्रमा सुविधाहरु थप गरिएको समेत सबैमा जानकारी गराउँदछौं ।
बीमापोष्टको भनाईः बीमा व्यवसायको दुई वटा महत्वपूर्ण अंगहरु हुन्छन् । बीमितको जोखिम बहन र बचत । सुर्यज्योति लाइफले हाल बिक्री गरिरहेको ‘सुर्यज्योति सुनौलो बाल भविष्य जीवन बीमा’ पोलिसी बीमित बालबालिकाको हितमा रहेको छैन । उक्त पोलिसी अन्तर्गतको बुँदा ४ मा बीमित बालबालिकाको निधन भएको अवस्थामा २५ प्रतिशत वा बीमाशुल्क मध्ये जुन बढि हुन्छ सो रकम फिर्ता गर्ने र बीमापोलिसी सोही मितिबाट स्वतः अन्त्य हुने भन्ने शर्त नभई बीमापोष्टले झुक्याएर ढाँटेर समाचार लेखेको होइन । बीमापोष्ट फेरि पनि आम बीमितहरुलाई आग्रह गर्न चाहन्छ कि सुर्यज्योति लाइफको बालबीमा पोलिसीको जोखिम बहन सम्बन्धी शर्त नं ४ एक पटक अध्ययन गरेर मात्रै उक्त पोलिसी खरिद गर्न आग्रह गर्दछ । बीमा भन्ने बीमितकै जोखिम बहन नगर्ने, सानो अक्षरमा शर्त राखेर बीमितलाई झुक्याउने कार्य ठगी र अपराध हो भन्ने बीमापोष्टले ठहर गरेरै समाचार प्रकाशित गरेको हो । यस खण्डनमा सुर्यज्योति लाइफले बीमित बालबालिकाको निधनमा जोखिम बहन २५ प्रतिशत वा बीमा शुल्क जुन बढि हुन्छ भन्ने कुरा असत्य रहेको भनेर दावी गर्न नसकेकोले बालबीमा पोलिसीमा बीमित ठगिएको कुरा स्पष्ट नै हुन आएको छ । नियामक नेपाल बीमा प्राधिकरणबाटै अनुमति लिएर सुर्यज्योति लाइफले बीमा पोलिसी बिक्री गरेको रहेछ भन्ने तथ्य समेत पत्ता लागिसकेको छ र बीमा प्राधिकरणबाट के कति कारण यस्तो पोलिसी बिक्री गर्न अनुमति दिएको हो ? सो सम्बन्धमा समेत बीमापोष्टले अध्ययन गरिरहेको छ ।