२ युवाको मुत्युपछि गृहमन्त्रालयले भन्यो-अप्रत्याशित घटना
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को फाराम भर्न नपाएको भन्दै आन्दोलित युवाहरुमाथि प्रहरीको बल प्रयोगले दुई जनाको मृत्युको घटनालाई गृहमन्त्रालय अप्रत्याशित भनेको छ । आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन राउत र अछामका २१ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ ।
घटनापछि विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अप्रत्याशित रुपमा घटेको घटनाका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन भएको जानकारी दिएका छन् ।
७ दिनभित्र घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई मन्त्रालयमा पेश गर्न भनिएको छ । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक डीआईजी लालमणी आचार्य संयोजकत्वमा ललितपुरका सहायक सीडीओ अमर दिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेको छानविन समिति गठन गरिएको हो ।