एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३१ प्रतिशतले बढ्यो, बृद्धिदरमा कुन कम्पनी अगाडि ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
कात्तिक महिनाको तुलनामा मंसिरमा कम्पनीहरुको कुल बीमा व्यवसाय ३० दशमलव ८९ प्रतिशतले बढेको छ । निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा दुई अर्ब २८ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।
मंसिर महिनामा सानिमा जिआइसी इन्स्योरेन्सले २५ करोड १८ लाख रुपैयाँ, द ओरियन्टल इन्स्योरेन्सले १३ करोड ७२ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २६ करोड १७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ३९ करोड ४३ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ८ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय गर्न सफल भएका छन् ।
त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले चार करोड ६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २७ करोड बढी रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।
कात्तिक महिनाको तुलनामा मंसिर महिनामा १४ वटा कम्पनीमध्ये १३ वटा व्यवसाय नै बृद्धि भएको छ । यस अवधिमा आजै मात्र साधारण सभा सम्पन्न गरेको नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन तीन प्रतिशतले घटेको छ ।
नेपाली समुदायको महान चाँडपर्व दशै, तिहार लगायत छठ पर्वहरु कात्तिक महिनामा परेकाले बीमा कम्पनीहरु बन्द रहेका थिए । जसका कारण कात्तिक महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन घटेको थियो ।