विद्युतको बक्यौता नतिर्ने सबैको लाइन काट्ने कुलमानको चेतावनी, जगदम्बा स्टिलकै ४ अर्ब
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन लिएका उद्योगहरु प्राधिकरणलाई तिर्न बाँकी बक्यौता सार्वजनिक गरेका छन् । कार्यकारी निर्देशक घिसिङले प्राधिकरण मै बिहिबार पत्रकार सम्मेलन गरी ६१ वटा उद्योगले २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार रुपैयाँ तिर्न बाँकी रहेको विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको बक्यौता मंसिर मसान्तसम्मको हो ।
बक्यौताको हिसाब सार्वजनिक गर्ने क्रममा कुलमानले उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनबाट उपलब्ध गराएको विद्युतको क्षमता पनि उल्लेख गरेर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार जगदम्बा स्टिलले सबैभन्दा धेरै ४ अर्ब १४ करोड रुपैयाँ तिर्न बाँकी देखिएको छ ।
१८ घण्टे लोडसेडिङ अन्त्य भएपछि तीन वटा उद्योगलाई ट्रंक लाइनमा जोडिएको देखिएको छ । नारायणी स्पात मिल्स, जगदम्बा इन्टरप्राइजेज र श्री सिद्धिलक्ष्मी स्टिललाई ट्रंक लाइनबाट बिजुली दिएको छ । जसबापत १ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बक्यौता रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।
कार्यकारी निर्देशक घिसिङले प्रिमियमसहितको विद्युत महशुल भुक्तानीका लागि पटक–पटक ताकेता तथा सूचनामार्फत अनुरोध गर्दा अटेरी गरेपछि बाध्य भएर लाइन काट्न सुरु गरेको बताए । उनले त्यसरी महशुल तिर्न अटेरी गर्ने सबैको लाइन काट्ने चेतावनी दिए ।
प्राधिकरणले महशुल बक्यौता रहेकामध्ये ९ उद्योगको लाइन काटिसकेको छ । ती ९ उद्योगको नाममा १२ अर्ब ५० करोड रुपैयाँ बक्यौता छ । अन्य ५२ वटालाई पनि चेतावनी दिइसकिएको घिसिङले पत्रकार सम्मेलनमा सुनाए ।
कार्यकारी निर्देशक घिसिङले दिएको जानकारी अनुसार डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएका २३९ उद्योगमध्ये १७८ वटाले प्रिमियमसहितको विद्युत महसुल यसअघि नै भुक्तानी गरिसकेका छन् ।