विगतमा उद्योगीको लोभ लालचमा फस्दा १८ घण्टा लोडसेडिङ भएको रहेछ : कुलमान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा उद्योगीहरुले देखाएको लोभ लालचमा फस्दा १८ घण्टासम्म लोडसेडिङ भएको तथ्य खोलेका छन् । घिसिङले यसको मुख्य कारण विद्युतको असमान वितरण रहेको बताएका छन् ।
उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइन प्रयोग बापतको बक्यौता नतिरेर विवाद झिकेपछि आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले आफु कार्यकारी निर्देशक भएर आउँदा पहिलो काम नै विद्युतको समान वितरण गरेर उद्योगी व्यवसायीको प्रलोभन चक्र तोडिएको बताए ।
उद्योगी व्यवसायीतर्फ लक्षित गर्दै उनले भने, ‘हिजो रोजगारी दिने वा अन्य बहानामा उद्योगी व्यवसायीले विद्युतको असमान प्रयोग गर्दै आएका थिए । म कार्यकारी निर्देशक भएर आएपछिको पहिलो सफलता भनेकै समान वितरण हो ।’
कार्यकारी निर्देशक घिसिङले पवन गोल्यानको रिलाइन्स स्पिनिङ मिल्सको नामै लिएर रोजगारी दिने नाममा लोडसेडिङ भइरहेको समयमा मन्त्रीको तोकादेशले ३० देखि ४० मेगावाट एक्लैले प्रयोग गरिरहेको तथ्याङ देखाए ।
डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था त धेरै पछि आएको कार्यकारी निर्देशक घिसिङले बताए । २०६९ सालमा लिलामणि पौड्याल मुख्य सचिव भएका बेला डेडिकेटेड लाइन जडान बन्द गरिदिएको थियो । तर, पछि फेरि अर्को बोर्ड बैठकबाट खोलेर विगतको असमान वितरणलाई निमन्त्रणा दिइएको फेहरिस्त आफुसँग रहेको घिसिङले बताए ।