शैक्षिक प्रमाणपत्र विवादमा परेका उपरथी थापा बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस भएको छ । रथी सिताराम खड्का पुस ३ मा सेवानिवृत्तसँगै सेनाको बढुवा समितिले उनको ठाउंमा वरीयतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।
थापाको शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत रहेको प्रश्न उठेपनि उनको बढुवाका लागि सात दिने सूचना प्रकाशित भएको छ । सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले सेनाको रथी बढुवाको सात दिने सूचना प्रकाशित गरिएको जानकारी दिए ।
सेनामा दुई रथीको दरबन्दी छ । यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासंगै उनि भावी प्रधानसेनापतिको लाइनमा परिसकेका छन् । उपरथी थापा हाल सिरिया र जोर्डनबीचको गालान हाइटमा रहेको अनडोफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । थापा रथीमा बढुवा भए फोर्स कमाण्डरका रुपमा मिसनमै रहनेछन् । उनी तीन वर्षका लागि फोर्स कमाण्डर नियुक्त भएका थिए ।