वन मन्त्रालयमै आगलागी, कर्मचारीको भागाभाग
११ पुष २०८०, बुधबार १७:०६
काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै वन तथा वातावरण मन्त्रालयमा विद्युत् शर्ट भएर आगलागी भएपछि बुधबार दिउँसो एकछिन् कर्मचारीको भागदौड मच्चियो ।
दिउँसो साढे २ बजेतिर वन मन्त्रालयमा आगलागीले खैलाबैला मच्चाएको हो । चौथो तलामा रहेका प्राविधिक उपसचिव परशुराम पौडेलको कोठामा विद्युत् शर्ट भएर आगलागी भएको हो । विद्युत मल्टिप्ल जलेर आगलागी भएपछि
एकछिन् कर्मचारीको भागदौड मच्चिएको थियो । त्यसपछि उपसचिव पौडेलको कोठा खोल्दा धुँवैधुवाँले भरिएको थियो । पौडेल भने धन्न कार्यकक्षमा थिएनन् ।
तत्कालै नियन्त्रणमा लिइएका कारण ठूलो क्षति भने नभएको मन्त्रालयले जनाएको छ । धेरै हिटर एकसाथ बालिएका कारण लोड धान्न नसकेर तार शर्ट भई आगलागी भएको एक कर्मचारीले बताए ।