पूँजीबजारमा अपेक्षित सुधार नभएको भन्दै प्रधानमन्त्री चिन्तित
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका चारै क्षेत्रमा आशाजनक वातावरण बनेको दाबी गरेका छन्।उनले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च भएको र अन्य क्षेत्रमा पनि आशाजनक वातावरण बनेको बताएका हुन्।
‘तथ्यांकहरू सकारात्मक भएपनि आर्थिक वृद्धिदर मैले सोचेकोभन्दा कम छ। म अब यसका आन्तरिक र बाह्य कारण देखाएर जिम्मेवारी नलिन चाहन्नँ,’ उनले भने, ‘दुई अंकको आर्थिक वृद्धिको लक्ष्य नराखी, अनि त्यसका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधारका साथै बहुपक्षीय तयारी नगरी देशको तीव्र विकास सम्भव छैन।’
उनले उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २।७ प्रतिशत बिन्दुले कम हुनुलाई उपलब्धि भनेका छन्। ‘तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ,’ उनले भने।
उनले बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको आधार ब्याजदर एकल अंकमा झरेको र ऋणको ब्याजदर पनि घटेको भन्दै यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने बताए।
उनले भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र चालु खाता नाफामा रहनुलाई उनले सरकारको गणनीय उपलब्धि भनेका छन्।
प्रधानमन्त्री दाहालले पूँजीबजारमा भने अपेक्षित सुधार नभएको र यसप्रति आफू चिन्तित रहेको बताए। ‘पूँजीबजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा म चिन्तित छु। सुधारका लागि गम्भीर गृहकार्यमा छु,’ उनले भने।
उनले उत्पादन र रोजगारी बढाउनेतर्फ ध्यान केन्द्रित गर्ने बताए। उनले पुँजीगत खर्च बढाउन निर्णायक हस्तक्षेप गर्ने भनेका छन्। यस्तै बजेट तर्जुमाको शैलीमा परिवर्तन गर्ने उद्घोष पनि उनले गरेका छन्।