हाइड्रोपावरमा के–के हुन् सरकारका प्राथमिकता ? (सूचीसहित)

१० पुष २०८०, मंगलवार १८:३३

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुकमा परिणत भइसकेको बताएका छन् । प्रधानमन्त्री कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री प्रचण्डले गएको आर्थिक वर्षमा मात्रै ३१ दशमलव २८ प्रतिशत विद्युत निर्यात भएको बताउँदै नेपालले सयौं वर्ष पहिलेदेखि गर्न नसकेको उपलब्धि विगत ७ वर्षको अन्तरालमै गरेको बताए ।

कार्यकालको एक वर्ष पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘विगत १०४ वर्षमा १०८ मेगावाट विजुली मुस्किलले उत्पादन भएकामा विगत ७ वर्षमा मात्रै २८ सय २२ मेगावाट विजुली उत्पादन भएको छ । तर, यसलाई नै उपलब्धि मान्ने पक्षमा म छैन ।’

जसका लागि आफुले छिमेकी भारत र चीनसँग पनि विद्युत व्यापारको सम्झौता अघि बढाएको र १० हजार मगेगावाट क्षमताको कर्णाली चिलिमेको अध्ययन अघि बढाउन लागेको बताए । उनले ९ सय मेगावाटको अरुण तेस्रो, १ हजार मेगावाटको माथिल्लो अरुण लगायत आयोजना अघि बढाउन सहजीकरण गरिएको प्रधानमनत्री प्रचण्डले बताए ।

साथै, प्रधानमन्त्री प्रचण्डले सरकार अब ठूला गेमचेन्जर जलविद्युत आयोजना तर्फ ध्यान केन्द्रित गरेको बताएका छन् । उनले बुढी गण्डकी, माथिल्लो अरुण लगायतका गेमचेन्जर जलविद्युत आयोजनाको प्रक्रिया अघि बढाउने तयारी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक भ्रमणको क्रममा भारत र चिन सरकारसँग पनि विद्युत व्यापारको लागि आवश्यक पहल भएको बताए । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने, ‘हामीसँग विद्युत उत्पादनको ठूलो सम्भावना रहेको र विद्युत व्यापारको लागि भारत, चिन मात्र नभई बङ्लादेशमा पनि रहेको छ।’

हाइड्रोपावरमा के–के हुन् सरकारका प्राथमिकता ?

–अब सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको छ किनकि भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएको छ ।

–बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने छ र स्रोतको अभाव हुन दिइने छैन ।

–तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको छ । १९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको छ ।

–हाल कार्यान्वयनमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनालाई मैले सिधै पनि सहजीकरण गरिरहेको छु भने १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

–आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिव ५६४ मेगावाट उत्पादन थप हुनेछ ।

–हालसम्म ९, १६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ जसमध्ये यस वर्षमात्र करिव २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ।

–सुनकोशी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिंचाइ आयोजनाहरूलाई समेत थप पानी उपलब्ध गराउन सक्ने ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा छ ।

–राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट निरीक्षण गर्ने तयारी गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*