सरकारको कार्यशैली बदल्ने प्रचण्डको उद्घोष, सुरुवात प्रधानमन्त्री कार्यालयबाटै (सम्बोधनको पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब दोस्रो वर्ष सरकारको कार्यशैली पूर्ण रुपमा बदल्ने बताएका छन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले सुरुवात आफैं अर्थात् प्रधानमन्त्री कार्यालयबाटै गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले यसै साता प्रधानमन्त्री कार्यालयको संरचनागत हेरफेर गरिने बताए । प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा गठित पुनर्संरचना समितिले प्रतिवेदन बुझाइसकेको छ । जसले अनावश्यक कर्मचारीको भारी कटौती गर्ने सुझाव दिएको छ ।
सरकारको कार्यशैली बदल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘अब म बाहिरका कार्यक्रममा जाँदिन । कार्यतालिका बनाइ पूर्वाधार विकासका जटिलता सबै सरोकारवालालाई एकै ठाउँमा राखेर समाधान गर्नेछुु । त्यसका लागि प्रविधिको भरपुर उपयोग गर्ने छुँ ।’
प्रधानमन्त्री प्रचण्डले विकास निर्माणका काममा निकै ढिलासुस्ती भएर लागत बढेको भन्दै अब व्यारेक मोडल अपनाउने समेत बताए । विगत १०४ वर्षमा जम्मा १०८ मेगावाट विजुली उत्पादन भएकामा अहिले एक वर्षको अवधि मै ५०१ मेगावाट विद्युत थपिएको जानकारी दिए ।
यस्तै, विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च भए पनि सोचे अनुसारको आर्थिक वृद्धि नभएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आयातको अवस्था घटेको भए पनि निर्यातको दायरा नबढेसम्म त्यसलाई सन्तोष मान्न नसकिने समेत बताए ।
प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सबै क्षेत्रमा व्यापक सुधार गर्ने उदघोष गर्दै विशेष क्षेत्र एवं वर्गका लागि छुट्टै ढंगले काम गर्ने बताए । यस्तै, विदेश मामिलामा कार्ययोजना कमजोर भएका मुलुक र त्यहाँ कार्यरत राजदूत एवं नियोग प्रमुखलाई फिर्ता बोलाउने तयारी भइरहेको जानकारी दिए ।
PM sambodhan pdf